पोखरा भाद्र १९,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने वताएका छन् । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज पोखरामा आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिएपनि सरकारको अंगको रुपमा रहेका कर्मचारीको कार्यशैली र क्षमतामा पनि असफलता झल्किने वताए ।
‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ पर्ने भन्दै मुख्यमन्त्रीले सरकारलाई सफल बनाउनु जनप्रतिनिधि र कर्मचारी सबैको ड्युटी रहेको वताए ।
कर्मचारीको वृत्तिविकास, न्यायोचित र व्यवस्थित सरुवा लगायतका विषयमा अन्तरक्रियामा सहभागी कर्मचारी संघ, संगठनहरुले चासो राखेका थिए । संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन कार्यन्वयनमा समस्या भएको गुनासो उनीहरुको थियो । जवाफमा मुख्यमन्त्री पाण्डेले प्रदेश निजामती सेवा ऐनमा देखिएका संवोधन गर्नुपर्ने विषय प्रदेश सभाबाट तत्काल संशोधनको तयारी गरिएको वताउदै संघीय निजामती ऐन निर्माण भएपछि पनि छुटेका विषय औचित्य हेरी संशोधन सहित सम्बोधन गरिने वताए ।
प्रदेश कर्मचारी कल्याणकारी कोष स्थापनाका लागि चालु वर्ष प्रदेश सरकारले १ करोड विनियोजन गरेको बताउँदै प्रदेश भित्रका स्थानीय तहलाईपनी कोषमा सहभागी गराउने पाण्डेले वताए । प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रमुखहरु, जनप्रतिनिधिहरु, मन्त्रालयका सचिवहरु लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।