पोखरा माघ २०,
पोखरा महानगरपालिका खेलकुद विकास समितिले शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना गरेको प्रथम पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा आयोजक पोखरा महानगरपालिकाको टिम विजेता बनेको छ । प्रतियोगितामा हरियोखर्क अस्पतालको टिम द्वितीय र महिला–पुरुष सहभागी संयुक्त टिम तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र सात हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा चार टिम सहभागी थिए । अपांगता खेलकुद समाज, कास्कीको टिमले सान्त्वना पुरस्कार स्वरुप ३ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र पाएको छ ।
पोखरा महानगरपालिकाको टिमका भरत बानियाँले सर्वाधिक ८ स्कोर गर्दै सर्वाधिक स्कोररको ट्रफी र प्रमाणपत्र पाएका थिए । हरियोखर्क अस्पतालका सुरेश गौली म्यान अफ द म्याच घोषित भए । उनले पनि ट्रफी र प्रमाणपत्र पाए ।
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् उपाध्यक्ष ध्वजकुमार गुरुङले महानगरपालिकाले खेलकुद विकास र खेलाडी उत्पादन गर्न निरन्तर प्रतियोगिता गरिरहेको भन्दै प्रशंसा गरे । उनले अपांगता भएकाहरुलाई प्रोत्साहन गर्न आयोजित प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले ह्विलचेयर बास्केटबल प्रतियोगिताले अपांगता भएकाले पनि खेल्न सक्छन् भनेर राम्रो सन्देश दिएको बताए ।