पोखरा पौष २०,
पोखरा महानगरपालिका वडा नं.९ महेन्द्र पुलमा पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को साझेदारीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुने भएको छ । यसका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिच बुधवार सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गरेका छन् ।
पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले वताए । स्तनपान कक्ष सहित निर्माण गर्न लागिएको शौचालयमा सेनेटरी प्याड समेत उपलब्ध हुने वताईएको छ ।
एनआरएनएका कार्यकारी अध्यक्ष थापाले पोखरा महानगरपालिकाको महेन्द्र पुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको वताईन् । यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान गर्ने विश्वास रहेको थापले वताईन् । एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको समेत उनले वताएकी थिईन् ।
सम्झौता अनुसार महेन्द्र पुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण गरिने छ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च वेहोर्नेछन् । करिब १ करोडको लागतमा ३ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने संझौतामा उल्लेख गरिएको महानगरपालिकाले जनाएको छ । उक्त ठाँउमा रहेका संरचना महानगरपालिकाले केही अगाडि भत्काएर खाली गराउको थियो । सम्झौता कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिका कुमारी शाही योगी र पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीको पनि सहभागिता रहेको थियो । महेन्द्र पुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्ने जनाएको छ ।