पोखरा माघ २४,
गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ्गले पोखरा बृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने वताएका छन् । पोखरा बृद्धाश्रममा स्थापना गरिएको मेडिकल ल्याबोटरीको आज उद्घाटन गर्दै मन्त्री गुरुङ्गले उक्त कुरा बताएका हुन् । सो अवसरमा मन्त्री गुरुङ्गले असहाय, बेवारिसे र अशक्त ज्येष्ठ नागरिकहरुको हेरचाह, पालनपोषण र उपचार सरकारले जिम्मा लिनु पर्ने भएता पनि पोखरा बृद्धाश्रम जस्ता स्वयमसेवी संस्थाले सो कार्य गरेकोमा प्रशंसा गरेका थिए । आश्रमलाई अत्यावश्यक पर्ने सरसफाईका सामाग्री, संचालनका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग गर्न मन्त्रालयले कुनै कसर बाकी नराख्ने मन्त्री गुरुङले वताए ।
हाल संघीय सरकारको अनुदान रकम उपलब्ध भए पछि आश्रमले ल्याबका स्वास्थ्य सामग्री खरिद गरेको आश्रमका अध्यक्ष तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव कुसुम केशव पराजुलीले वताए । गत आर्थिक बर्षमा सामाजिक बिकास मन्त्रालयले ज्येष्ठ नागरिकहरुलाई लाग्ने अल्जाईमर रोग स्क्रिनिङ्ग टेष्ट कार्यक्रम संचालन गर्न रु.७ लाख बजेट बिनियोजन गरेको र उक्त कार्यक्रम सामाजिक बिकास कार्यालय मार्फत संचालन भएको पराजुलीले वताए । आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकहरुलाई पोखरा बृद्धाश्रममा ल्याएमा निशुल्क टेष्ट गरिने जानकारी आश्रमका सचिव धर्म बहादुर तमुले वताए ।
सोही अवसरमा ज्येष्ठ नागरिक तथा गृहिणिहरुलाई लक्षित गरि संचालन गरिएको आय आर्जन कार्यक्रममा सहभागि प्रशिक्षार्थीहरुलाई सहभागिताको प्रमाण पत्र समेत प्रमुख अतिथिगुरुङले वितरण गरेका थिए । सो अवसरमा आश्रमको लागि आवश्यक पर्ने १५ थरीका अचार उत्पादन गरिएको र सहयोगदाताहरुले दिएर बढि भएको खाद्य पदार्थ बिक्री गर्न सकिने बताइएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।