पोखरा, फागुन २५,
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । आज भएको राष्ट्रपतिको निर्वाचनमा ३३ हजार ८०२ मत भार प्राप्त गर्दै पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टि, लोकतान्त्रिक समाजवादी पार्टि, जनमत पार्टि, नागरिक उन्मुक्ति पार्टि र राष्ट्रिय जनमोर्चा सहितका ८ दलको समर्थनमा राष्ट्रपतिको उमेद्धवार वनेका थिए । पौडेललाई यी ८ दल सहित, राष्ट्रिय स्वतन्त्र पार्टि, नेपाल समाजवादी पार्टि र स्वतन्त्र सांसदहरुले समेत मतदान गरेका थिए ।
नेकपा एमालेको तर्फवाट उमेद्धवार वनेका सुवास चन्द्र नेम्वाङले १५ हजार ५ सय १८मत भार प्राप्त गरेका छन् । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टिका १४ र नेमकिपाका १ गरि प्रतिनिधि सभाका १५ सांसदले मतदानमा भाग लिएनन् । नेपाली काँग्रेसका चन्द्र भण्डारी र नेकपा माओवादी केन्द्रका वर्षमान पुन विरामी परेको कारण र स्वदेश वाहिर उपचाररत रहेका कारण मतदानमा सहभागि हुन सकेनन् भने प्रतिनिधि सभाका १ सांसद निलम्वनमा परेको एक जना फरार सूचीमा परेका र १ जनाको मृत्यु भएको र रवि लामिछाने निर्वाचित भएको क्षेत्र खाली रहेकाले पनि प्रतिनिधि सभाका २१ सांसदले मतदानमा सहभागिता जनाएनन् । प्रदेश सभा तर्फ ५५० प्रदेश सभा सदस्य रहेको भएपनि ५१८ जनाले मात्रै मतदानमा भाग लिएको वताईन्छ ।
गण्डकी प्रदेशको तनहूँ जिल्ला निर्वाचन क्षेत्र नं एक वाट निर्वाचित रामचन्द्र पौडेल नेपाली काँग्रेसका वरिष्ठ नेता हुन् । लामो समय नेपाली काँग्रेसको राजनितीमा सक्रिय रहेका पौडेल विधिको शासन र लोकतन्त्रको रक्षाका लागि जीवनका कठिन क्षणहरु व्यतित गरेका नेता हुन् । समकालिन राजनितीका चर्चित पात्र पौडेल नेपाली काँग्रेसको सभापति र प्रधानमन्त्री वन्न निक्कै प्रयत्न गरेपनि सफल भएनन् तथापि उनले हरेस खाएनन् र उनिलाई राष्ट्राध्यक्ष वन्ने शुभ अवसर प्राप्त भयो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचको गठवन्धन टुटेपछि मात्रै पौडेललाई राष्ट्रपति वन्न सहज भएको हो । पार्टि सभापति देउवाको शुभेच्छाको कारण काँग्रेस भित्रै राष्ट्रपतिका दावेदार कृष्ण प्रसाद सिटौलालालाई पछाडि पार्दै राष्ट्रपति वन्न सफल भएका पौडेल नेपाली काँग्रेसमा पार्टि सभापति देउवा पछिका नेताको रुपमा रहेका थिए ।