पोखरा, आाषढ २५ ,
पोखरा महानगरपालिकाले पृथ्वी राजमार्गको पोखरा देखि विजयपुर खोला सम्मका मापदण्ड विपरितका संरचना हटाउन सुरु गरेको छ । सोमवार महानगरपालिकाले पोखराको सेती पुल देखि पूर्वका मापदण्ड भित्र परेका संरचनाहरुमा डोजर लगाएको हो । महानगरपालिकाले एक महिना अगाडि मापदण्डमा परेका संरचना हटाउन सूचना जारी गरेको थियो । सूचना जारी गर्दा पनि नहटाएपटि माईकिङ गरेर पनि जानकारी गराईएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले वताए । यसरी सूचना तथा माईकिङ गर्दा पनि सम्वन्धित ब्यक्तिहरुले नहटाएपछि डोजर लगाउनु परेको प्रमुख आचार्यले वताए ।
महानगरपालिकाले स्थायी तथा अस्थायी संरचना भत्काउन २ वटा डोजर प्रयोग गरेको थियो स्थायी तथा अस्थायी संरचना भत्काउने , मापदण्ड भित्र पर्ने जग्गामा थुपारेर राखिएका निर्माण सामग्री पनि महानगरपालिकाले उठाएर लगेको छ । पोखरा मुग्लिन सडक निर्माणको क्रममा रहेको र निर्माण कार्यको लागि सडकको अवरोध हटाउनु पर्ने तथा काम छिटो छरितो गर्नका लागि निर्माण कम्पनीलाई सहज वातावरण वनाउनका लागि महानगरपालिकाले डोजर लगाएर राईट अफ द वे क्लियर गर्नका लागि सहजीकरण गरिएको प्रमुख आचार्यले वताए । एडिवीको सहयोगमा निर्माण हुन लागेको पोखरा मुग्लिन सडकको अवस्था वुझ्न आषाढ २७ गते एडिवीको टोली पोखरा आउने भएकाले पनि महानरपालिकाले सडक विस्तारका लागि सडकमा डोजर लगाएर सडक विस्तारमा अवरोध नभएको सन्देश दिन खोजेको छ । महानगरपालिकाले मापदण्ड विपरितका संरचनामा डोजर लगाउदा महानगरपालिकाका प्रमुख आचार्य पनि फिल्डमै खटिएका थिए । उनलाई विभिन्न वडाका वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरु, नगर प्रहरी, बिभिन्न राजनितीक दलका नेता कार्यकर्ता र सर्वसाधारणले समेत साथ दिएका थिए ।