पोखरा मंसीर १९,
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसीर २१ गते देखि पौष ५ गते सम्म पोखराको नयाँ वजार स्थित प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यपार मेला २०८० हुने भएको छ । आज महोत्सव स्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी गराईएको हो । २०४२ सालदेखि महोत्सव आयोजना गर्दै आईरहेको पोखरा उद्योग वाणिज्य संघले यस पटकको महोत्सवलाई ३२ औ संस्करण भनेको छ । उत्पादक र उपभोक्तालाई एयटै थलोमा ल्याउने उदेश्यका साथ आयोजना गरिदै आएको राष्ट्रिय औद्योगिक व्यपार मेलाले यस क्षेत्रका साथै समग्र गण्डकी प्रदेशको ब्यापार व्यवसायको विस्तार गर्ने अपेक्षा आयोजकले गरेका छन् ।
लगानीको सम्वर्धन, उद्योग व्यवसायको प्रवर्धन भन्ने मुल नाराका साथ सञ्चालन हुन गईरहेको मेलामा कृषि जन्य उत्पादन, हस्तकलाका उत्पादनहरु, स्थानिय तथा राष्ट्रिय उत्पादनहरुको बिक्री वितरण, अटोका स्टलहरु रहनेछन् सूचना प्रविधिको प्रदर्शनी, शिक्षा स्वास्थ्य पर्यटन लगायत कृषि जन्य वस्तुहरुको प्रवर्धन गर्ने मेलाको उदेश्य रहेको छ । यस पटकको मेलामा विद्युतिय सवारी साधनहरुको प्रर्दशनी तथा विक्री आकर्षणको रुपमा रहने वताईन्छ । लक्ष्मी हाउस अन्तर्गतको लक्ष्मी हुण्डाई, संमृद्धि स्टिल र सुजल फुड्स मुख्य प्रायोजक रहेको मेलाको प्रवर्धकमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन् ।
मेलाका लागि सर्वसाधारणलाई रु १०० र बिद्यार्थीहरुका लागि रु ६० को टिकटको व्यवस्था गरिएको र सर्वसाधारण तर्फको टिकटको रु १० र विद्यार्थीहरु तर्फको टिकटको रु ५ जाजरकोट भुकम्प पिडितहरुका लागि छुट्याईने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेलाको कार्य सम्पादन समितिका संयोजक पवन कुमार प्रजापतिले वताए । मेलामा डोम तर्फ ५४, अटो तर्फ ५० र अन्य १४६ गरि २५० स्टल रहने अध्यक्ष प्रजापतिले वताए । मेलाको ९३ प्रतिशत तयारी पुरा भएको वताउदै मेलाको २१ गते गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले दिउसो १ वजे उद्धघाटन गर्ने कार्यक्रम रहेको र त्यस अगाडि पोखरा उद्योग वाणिज्य संघवाट प्रभातफेरी निकालिने अध्यक्ष प्रजापतिले वताए । पत्रकार भेटघाट कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की,महासचिव वलराम आचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारीले मन्तव्य ब्यक्त गरेका थिए ।