पोखरा चैत्र २३,
पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । चैत्र १९ देखी २२ गतेसम्म सञ्चालन गरिएको तालिम महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा सम्पन्न भएको पोखरा महानगरपालिकाले जनाएको छ । तालिमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विपद्का बेला प्राथमिक उपचार महत्त्वपूर्ण हुनुभएकाले यसका लागि आवश्यक ज्ञान हासिल गर्नुपर्ने वताए । कुनै पनि प्रकारको विपदमा उद्धारकर्ताहरूलाई सुरक्षित सेवा उपलब्धता सुनिश्चित गर्न आवश्यक सिप विकास तथा उपचार विधिका बारेमा सचेतनाका लागि तालिम उपलब्धिमूलक भएको आचार्यले विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका विपद् न्यूनीकरण सहित विपद्का बेला आवश्यक जनशक्ति तयारका सन्दर्भमा प्रतिबद्ध रहेको भन्दै प्रमुख आचार्यले हाल तत्काल उपलब्ध हुने गरी नगर प्रहरी र दमकल सेवालाई एकै स्थानबाट सञ्चालन गरिएको वताए । एकीकृत आपतकालिन सेवाका लागि र्यापिड एक्सन टिम निर्माण गरी विपद्का बेला परिचालन गर्ने गरिएको प्रमुख आचार्यले वताए ।
सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माले रेडक्रसले विपद् प्रतिकार्यमा समर्पित जनशक्ति तयार तथा आवश्यक उद्धार सामाग्री सहित प्राथमिक उपचारका क्षेत्रमा काम गरिरहेको वताए । तालिम मार्फत सहभागीहरूले विपद्का बेला गर्नु पर्ने प्राथमिक उपचार र उद्धार कार्यका विषयमा आफूहरूलाई धेरै ज्ञान हासिल भएको बताएका थिए । तालिममा पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी तथा नगरप्रहरीहरुको सहभागिता रहेको थियो ।