पोखरा जेष्ठ ९,
नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो १७ औ साधारण सभाका अवसरमा दुईजना पत्रकारलाई सम्मान गर्ने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० वाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर बिरही र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट फेवापोष्ट साप्ताहिक तथा फेवापोष्ट खवर डटकमका सहायक सम्पादक श्रीराम सिग्देल सम्मानित हुन लागेका हुन् । पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको बैठकले अनुमोदन गरेको र दुवै जना पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ कास्की शाखाको १७ औ साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले सम्मान गर्नेे कार्यक्रम रहेको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० को प्रतिभा चयनका लागि माधव शर्माको संयोजकत्वमा कृष्ण प्रसाद वास्तोला र रविन्द्र वास्तोला सदस्य रहेको छनोट समिति गठन गरिएको थियो उक्त समितिले पत्रकार बिरहीको नाम सिफारिस गरेको थियो । उक्त पुरस्कारको राशी नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
त्यसै गरि आर्थिक पत्रकारिता पुरस्कार २०८० का लागि लागि नवराज सुवेदीको संयोजकत्वमा दीपेन्द्र श्रेष्ठ र टंक अधिकारी सदस्य रहेको छनोट समिति गठन गरिएको थियो । दुवै समितीहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष र सचिव सदस्य रहेका थिए । आर्थिक पत्रकारिता पुरस्कार २०८० वाट सम्मानित हुने पत्रकार सिग्दे सिग्देलले २०५४ सालमा आदर्श समाज दैनिकवाट पत्रकारिता सुरु गरेका हुन हाल उनि फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमको सहायक सम्पादक हुन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष सिग्देल नेपाल पत्रकार महासंघ कास्कीको सहसचिवको जिम्मेवारीमा छन् ।