पोखरा भाद्र २,
जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी कार्यालयहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा कास्की जिल्लामा ठूलो संख्यामा स्वरुप परिवर्तन गरिएका मोटरसाईकलहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीले विगत लामो समयदेखि स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिने र तिनीहरुलाई कार्यवाहीको प्रक्रियामा ल्याउने अभियाननै सञ्चालन गरेको थियो । अभियान संचालन गरेदेखि हालसम्म स्वरूप परिवर्तन गर्ने र ध्वनी प्रदुषण गर्ने २०३५ थान मोटरसाइकललाई कारवाही गरीएको र ति सवारी साधनसंगवाट २९ लाख ८ सय जरिवाना संकलन भएको आईतवार पोखरामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईयो ।
यसरी स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण गर्दै चलाईएका मोटरसाईकल नियन्त्रण गर्न २०८० असोज २१ गते देखि अभियानकै रुपमा कार्यक्रम संचालन गरी स्वरूप परिवर्तन गरिएका २२ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको थियो । त्यसैगरी मिति २०८० साल फागुन १७ गते देखि २० गतेसम्मको अभियानमा स्वरुप परिवर्तन गरिएका ५९ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको र पटके कारबाहीमा परेकाहरूलाई यातायात व्यवस्था कार्यालयमा समेत पठाइएको प्रहरीले जनाएको छ । सोही समयमा स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसप संचालकहरूलाई समेत पक्राउ गरी स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र सचेतनामुलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको प्रहरीले जनाएको छ ।
यसै क्रममा हाल २०८१ साल श्रावण ३० गते देखि भदौ २ गतेसम्मको ५ दिनमा १४९ थान स्परुप परिवर्तन गरि चलार्ईएका मोटरसाइकल नियन्त्रणमा लिईएको र उनिहरु कारवाही प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक वसन्त कुमार शर्माले वताए । यसरी नियन्त्रणमा लिईएका मोटरसाईकलहरुमा पहिलो पटके देखि चौथो पटके सम्म परेका र यसवाट करिव रु.२२,००,०००।– (वाइस लाख) राजस्व उठ्ने अनुमान रहेको समेत प्रहरीले जनाएको छ यसरी अनुमती नलिईकन सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को वमोजिम रू.१५ हजार सम्म जरिवाना हुने व्यवस्था रहेको र यस कार्यमा संलग्न सवारी धनी र वर्कसप संचालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउने कानूनी व्यवस्था रहेको छ । स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, ध्वनी प्रदुषणको कारणवाट विरामी, वृद्दवृद्दा, वालवालिका तथा संवेदनशील क्षेत्र (अस्पताल स्कुल) मा प्रत्यक्ष असर पर्ने हुनालेकसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको, स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिन सवैमा प्रहरीले अनुरोध समेत गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।