पोखरा, मंसीर ५,
हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ । यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने छ

जसका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरासम्म ल्याईपु¥याउनका लागि महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने महानगरपालिकाले जनाएको छ । तोकिएका बसस्टपहरुमा इन्टरनेट र बिजुलीबत्तिको व्यवस्थापन महानगरपालिका आफैले गर्नेछ, पहिलो चरणमा रु.१८ करोड बराबरको सामाग्रीहरू कोरियाले उपलब्ध गराउने जनाईएको छ ।

यसको पाइलोटिङ्संगै आगामी दुई वर्ष भित्र महानगर भित्रको सम्पूर्ण सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइनेछ। परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।

नगर प्रमुख धनराज आचार्यका अनुसार पाईलोटिङ गरिएपछि पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।

यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन् ।

यस विषयमा कोरियाको तर्फबाट तारकम को.लिमिटेडका बिजनेस विभागका निर्देशक कि होन किमले नगर प्रमुख आचार्यसँग बुधवार छलफल गरेका छन् । किमले सबै सामाग्रीहरू परीक्षण पश्चात् तयारी हालतमा रहेकाले एक महिना भित्र नेपाल आइपुग्ने जनाएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।