पोखरा पौष ५,
पोखरा महानगरपालिका – १७ बिरौटामा रहेको वालोदय माविका विद्यार्थीहरूको ड्रामा क्लबले दुई फरक फरक शीर्षकका लघुनाटकहरू मञ्चन गरेको छ । अशेष मल्ल र टंक चौलागाईको लेखन, पोखरा थिएटरका कलाकार तथा अभिनय प्रशिक्षक उत्सर्ग सुवेदीको निर्देशन र सोही थिएटरको सहकार्यमा विद्यालयको नाटक क्लबका बालबालिकाहरूले बिहिवार ‘वनभोज’ र ‘आश्रम’ शीर्षकका दुई नाटकहरूको प्रदर्शन गरेको विद्यालयले जनाएको छ । बिहान १०ः३० बाट सुरु भई दिउँसो ३ बजेसम्म पटक–पटक प्रदर्शन गरिएका नाटकहरू विद्यालयका वि.व्य.स.अध्यक्ष कमला पगेनी, प्रबन्ध निर्देशक दुर्गादत्त पगेनी, प्राचार्य टेकनाथ पौडेल लगायत शिक्षकहरू र विद्यार्थीहरूका साथसाथै सहभागी कलाकार विद्यार्थीका अभिभावकहरूले समेत अवलोकन गरेका थिए ।
वनभोजको वास्तविकता र यसले प्रदान गर्ने मनोरञ्जन तथा बालबालिकाको मनोविज्ञानलाई समेटेर तयार गरिएको ‘वनभोज’ नाटक तथा वृद्धवृद्धाहरूको पीडा, छोराछोरीहरूले आफ्नै वृद्धावस्थाका बाबुआमालाई हेला गर्ने प्रवृत्ति आदिलाई समावेश गरिएको ‘आश्रम’ नाटक वास्तविकतामा आधारित र मर्मस्पर्शी भएको उपस्थित दर्शक शिक्षक तथा विद्यार्थीहरूले वताए । कार्यक्रमको अन्त्यमा प्राचार्य टेकनाथ पौडेलले उत्कृष्ट अभिनय गरी नाटक मञ्चन गर्न सक्षम कलाकार विद्यार्थीहरू, बालोदय ड्रामा क्लब तथा आवश्यक सहकार्य गर्ने पोखरा थिएटरप्रति हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।