पोखरा माघ १९,
पोखरा महानगरक्षेत्रमा कोटीहोमका नाममा विना अनुमती सयौ वर्ष पुराना चौतारीका रुखहरु धमाधम काटिएको प्रति पोखरा महानगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता खालका रुखहरु धमाधम काटेका गुनासा महानगरपालिकामा आएका र काटिएका प्रमाणपत्रहरु पनि प्राप्त भएको भन्दै महानगरपालिकाले जरुरी सार्वजनिक सूचना निकालेर यस्ता प्रकारका गैर कानूनी हर्कतहरु तुरुन्त वन्द गर्न भनेको छ । यस प्रकारले अनधिकृत रुपमा रुख कटान गर्ने कार्य कानूनतः दण्डनिय हुने भन्दै महानगरपालिकाले रुख कटानमा संलग्न जो कोहीलाई पनि कानूनतः कारवाही हुने जनाएको छ ।
अनुमति विना सार्वजनिक स्थानका रुखहरु कटान गर्न नपाईने सवैलाई जानकारी गराउदै आफ्नो टोल छिमेकमा रहेका रुख विरुवाहरु संर।क्षण गर्न अनुरोध समेत महानगरपालिकाले गरेको छ । महानगरपालिकाले अनुगमनका क्रममा काटिएका रुखहरुको विवरण संकलन गरिरहेको जनाउदै रुख कटानमा संलग्नलाई प्रचलित कानून अनुसार कारवाही गरिने स्पष्ट पारेको छ ।
यसै गरि पोखरा महानगरपालिकका सार्वजनिक स्थानका रुखहरु काटिएको प्रति पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले चिन्ता ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै माछापुच्छ्रे हिमाल कालो हुँदै गएको र दिनप्रतिदिन तापमान वृद्धि भइरहेको विषय हाल व्यापक छलफलमा रहेको छ । यसै सन्दर्भमा, पोखरा महानगरपालिकाले सार्वजनिक स्थलहरूमा २ लाख २६ हजार बिरुवा रोपण गर्ने अभियान सुरु गरिरहेको वेला पोखराका सार्वजनिक चौतारी र अन्य स्थानमा दिनदहाडै सयौं वर्ष पुराना वर, पीपल, र स्वामीका रुखहरू निर्मम रूपमा काटिएको घटनाप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । यो विषय गम्भीर चिन्ताको विषय मात्र नभई वातावरणीय सन्तुलनका लागि समेत हानिकारक छ । अतः महानगरपालिकाले सार्वजनिक रूपमा जारी गरेको सूचना सबै नागरिकले मनन गरिदिनुहुन अनुरोध गर्दछौ प्रमुख आचार्यले भनेका छन् । पोखरा महानगरपालिका र स्थानीय प्रसासनले कुनै कोटिहोम आयोजना गर्न कसैलाई अनुमति प्रदान नगरेको समेत प्रमुख आचार्यले स्पष्ट पारेका छन्