झापा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको वताएका छन् ।
आज झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने वताए । सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियमसंगत कारवाही गरिने बताउदै सोही कारण पुनः मतदान हुन नदिने स्थिति सिर्जना गराउन आयोग जुटेको वताए ।
कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासोे आउने वातावरण सृजना नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको प्रमुख आयुक्त थपलियाको भनाइ थियो । निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताउँदै थपलियाले सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागि परेको वताए ।
कार्यक्रममा झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बार एसोसिएशनका पदाधिकारी, विभिन्न उम्मेद्वार, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो ।