पोखरा, मंसीर २,
मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आम सञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न नेपाल पत्रकार महासंघले निर्वाचन आयोग र सरकारसँग माग गरेको छ । महासंघका महासचिव रोशन पुरीद्धारा आज शुक्रवार जारी बिज्ञप्तीमा निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्वाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र संप्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ भनिएको छ ।
त्यसैगरि महासंघले निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहजढंगबाट चल्न दिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । निर्वाचनको क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि महासंघले सरकारसँग आग्रह गरेको छ । निर्वाचनका बेला महासंघका सबै सदस्यहरू तथा सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गर्दै निर्वाचनको समाचार संकलन र संप्रेषण गर्ने कार्यमा जुट्न पनि महासंघले आव्हान गरेको छ । मुलुकमा संविधानसभाबाट संविधान जारी भएसँगै दोस्रो पटक हुनगइरहेको यो निर्वाचनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने विश्वास महासंघले लिएको बिज्ञप्तीमा जनाईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।