पोखरा फागुन २३,
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कास्की क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीवाट खडकराज पौडेल(गनेश) बिजयी भएका छन् । उनी ३९ हजार ८८३ मत ल्याउदै बिजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आज दिउसो सार्वजनिक गरेको मत परिणाम अनुसार उनले नेपाली काँग्रेसका तिलक बहादुर रानाभाटलाई २८ हजार ६६९ मततान्तरले पराजित गरेका हुन् । रानाभाटले ११ हजार २१४ मत ल्याएका छन् । नेकपा एमालेका वैन वहादुर अधिकारीले १० हजार ४२९ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त वुझाएका छन् । नेकपाका राजकाजी गुरुङले २ हजार ४ सय ७९ मत ल्याएका छन् । कास्की १ मा श्रम संस्कृति पार्टीले राप्रपालाई उछिनेको छ । सो पार्टीका बिल वहादुर तामाङ लामाले १ हजार १ सय ४१ मत प्राप्त गरे भने राप्रपाका बावुराम थापाले ९ सय ७८ मत ल्याए ।
कास्की निर्वाचन क्षेत्र नं १ मा काँग्रेस, एमाले र नेकपा तिनवर्टै पार्टीले आफ्ना उमेद्धवारहरुले जित्ने आंकलन गरेका थिए । विगतमा नेपाली काँग्रस, नेकपा एमाले, साविक नेकपा माओवादी हाल नेकपाले पालै पालो जित्ने गरेको यो क्षेत्रमा तिनवटै पार्टीका उमेद्धवारहरुले जित्ने आशा गरेको भएपनि रास्वपाका गनेश पौडेलले सवै उमेद्धवारहरुलार्ई निक्कै धेरै मतान्तरले पछाडि पार्दै जित निकालेका छन् । कास्की १ मा ७० हजार १सय ५० मत खसेको थियो भने ६७ हजार ४१० मत सदर भएको थियो ।
