पोखरा पौष २५,
पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्बा गुरुङ र सितला अधिकारीको संयुक्त निर्देशनमा तयार भएको यो नाटकले दुव्र्यसनका कारण युवाहरूले भोग्नुपरेका पीडा र त्यसले परिवार तथा समाजमा पार्ने गहिरो असरलाई प्रभावकारी रूपमा उजागर गरेको छ ।
नाटक सरल कथावस्तु, सहज निर्देशन र मन छुने अभिनयका कारण दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सफल देखिन्छ । एक घण्टाको अवधिमा प्रस्तुत नाटकले दुव्र्यसन केवल व्यक्तिगत समस्या नभई पारिवारिक र सामाजिक संकट हो भन्ने सन्देश स्पष्ट रूपमा दिन्छ ।
नाटकका लेखक साबित्रा पाठक (सबु) ले समाजमा देखिँदै आएको यथार्थ पीडालाई नाटकमा प्रस्तुत गर्ने प्रयास गरिएको बताइन् । दुव्र्यसनका कारण धेरै परिवार भित्रभित्रै पीडामा छन् , ती नबोलेका पीडालाई नाटकमार्फत आवाज दिन खोजिएको उनले वताईन् ।
नाटकका निर्देशक पंच सुब्बा गुरुङले सामाजिक जिम्मेवारी बोकेको नाटक प्रस्तुत गर्न पाउँदा सन्तोष लागेको बताए । “मनोरञ्जनसँगै समाजलाई सोच्न बाध्य बनाउने नाटक हाम्रो उद्देश्य हो । दर्शकको प्रतिक्रियाले हामी सही दिशामा छौँ भन्ने महसुस गराएको छ”, उनले भने ।
सह–निर्देशक सितला अधिकारीका अनुसार नाटकले युवाहरूलाई सही बाटो रोज्न प्रेरित गर्ने विश्वास लिएको वताईन् । नाटक हेरेपछि प्रतिक्रिया दिँदै नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले नाटक समयसापेक्ष र सशक्त रहेको बताइन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले नाटकले गम्भीर विषयलाई सरल र मार्मिक ढंगले प्रस्तुत गरेको उल्लेख गरे ।
त्यसैगरी चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल ले नाटकलाई समाजका लागि आवश्यक दस्तावेजको संज्ञा दिए । दुव्र्यसनविरुद्ध चेतना फैलाउने यस्ता सिर्जनाले रंगमञ्चको सामाजिक उत्तरदायित्व पुष्टि गर्ने उनले वताए ।
पोखरा थिएटरका सञ्चालक परिवर्तनले पनि नाटकको प्रशंसा गर्दै सामाजिक विषयवस्तुमा आधारित सिर्जनालाई पोखरा थिएटरले प्राथमिकता दिँदै आएको बताए । कतिपय प्राविधिक कमजोरी देखिए पनि समग्रमा नाटकले दर्शकलाई समय बितेको पत्तै नहुने गरी कथा र भावनासँग जोड्न सफल भएको छ । सामाजिक चेतना, जिम्मेवारी र परिवर्तनको सन्देश बोकेको नाटक “मृत्यु यस्तो हुनु हुँदैन” सबैले हेर्नुपर्ने नाटकका रूपमा स्थापित हुँदै गएको निर्माण पक्षले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।