पोखरा कार्तिक १५,
गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् ।
शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सहसचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यहरूमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना पौडेल बराल र गणेशराज सदाशङ्कर चयन भएका छन् ।
प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको साधारण सभाबाट प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित भएको छ । गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ संयोजक तथा प्रेमराज अधिकारी र रेशम गिरी सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्य समितिको घोषणा गरेको थियो ।
अधिवेसनकै अवसरमा आयोजित कार्यक्रममा गीतकार सम्मान २०८२ वाट पत्रकार समेत रहेका गीतकार आरजु विष्ट ‘सल्यानी’ लाई सम्मान गरिएको छ । सल्यानीलाई गितकार प्रतिष्ठान नेपालले सम्मान गरेको हो । सो अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, श्रेष्ठ,कवि तथा गीतकार रमेश श्रेष्ठ, प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियालगायतले विष्टलाई नगद ५ हजार ५५५ रुपियाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरे ।
कार्यक्रममा सरुभक्तले गीतको जननी गीतकारलाई बिर्सेर कुनै गायक÷गायिकाले आफूलाई मात्र सर्वेसर्वा ठान्न नहुने धारणा राखे । गीतकारले पनि मलाई कसैले सम्झेन भनेर कुण्ठा बोकिराख्नु नपर्ने बताउँदै गीतकार आमा भएकाले आमालाई कसैले सम्झे पनि नसम्झे पनि आमा आमा नै हुने सरुभक्तको विचार थियो । आरजु जस्तो एक प्रतिभाशाली गीतकारलाई सम्मान गर्नु संस्था नै सम्मानित हुनु भएको बताउँदै उनले गीति साहित्यको ऐतिहासिक अभिलेख प्रकाशन गर्न प्रतिष्ठानलाई सुझाव दिए ।
सम्मानित प्रतिभा पत्रकार तथा गीतकार विष्टले आफू गायक हुने धुनमा लागिरहँदा त्यसमा आएको अवरोधले गीतकारका रूपमा केन्द्रित हुने मौका पाएको बताए । सम्मानले चर्चामा आउन नचाहने आफूलाई गीति क्षेत्रमा थप काम गर्ने जोस भरेको अनुभव उनले सुनाए । सञ्चारकर्मीसमेत रहेका विष्टका जित मात्रै कहाँ हो र …, झ्याम्म झ्याम्म…, ठोकिँदा ठोकाइमा…लगायतका गीत चर्चित छन् । उनका करिब ३०० गीत रेकर्ड भएका छन् । उनको ‘सागर’ र ‘झ्याम्म झ्याम्म’ गरी २ गीति एल्बमसमेत बजार आएका छन् ।
कार्यक्रममा गीतकार तथा विम्बकवि रमेश श्रेष्ठ, पूर्व सम्मानित गीतकार सरस्वती श्रेष्ठ ‘सरू’, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । गीत लेखनका क्षेत्रमा योगदान पु¥याएका नेपाली गीतकारलाई हरेक २ वर्षमा प्रदान गरिने सम्मान यसअगि प्रकट पगेनी ‘शिव’, शीतल कादम्बिनी र सरस्वती श्रेष्ठ ‘सरू’ ले प्राप्त गरिसकेका छन् ।

