पोखरा पौष २७,
पोखराका कलाकार भुवन गुरुङ ‘क्यान मनबहादुर जितीमाया पुन साइन आट्र्स पुरस्कार २०८२’ बाट सम्मानित भएका छन् । उनलाई राजधानीमा हालै आयोजित एक कार्यक्रमममा सम्मान अर्पण गरिएको हो । पोखरामा रहेर विगत ४५ वर्षदेखि साइन बोर्ड लेखन कार्यमा सक्रिय गुरुङले श्रेष्ठ आट्र्समा साइन बोर्ड लेख्न सिके पछि यही पेशा अवलम्बन गरेका थिए । उनले स्वतन्त्र कलाकारको रुपमा अरुको पसलमा बसी बोर्ड लेख्ने गरेका गरे । श्रेष्ठ आट्र्स सँगै पुन आट्र्स, श्रमिक आर्ट, भूगोल आर्ट लगायतका पसलमा साइन बोर्ड लेखन कार्य गरेका गुरुङ साइन बोर्ड लेखनमा आएको गिरावटका कारण पेशा जोखिममा परेपछि कामको खोजीमा अरबको खाडीमा समेत हानिएका थिए ।
निरन्तर कर्ममा लागि रहेका तर राज्यको तर्फवाट सम्मानको अवसर प्रप्त नगरी ओझेलमा परेका साइनबोर्ड लेख्ने कलाकारहरूलाई प्रोत्साहन गर्ने हेतुले पुन आट्र्स पोखराका सञ्चालक समेत रहेका कलाकार तिलक पुन पुर्जाले स्वर्गीय मातापिताको नाममा स्थापना गरेको मनबहादुर जितीमाया साइन कला पुरस्कारबाट पहिलो वर्षनै भुवन गुरुङ सम्मानित भएका छन् । पुरस्कारको रासी १० हजार नगद र सम्मान पत्र रहेको छ ।
राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यवसायिक कलाकार सङ्घ क्यानको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखराका कलाकार गुरुङ सहित वरिष्ठ चित्रकार मदन चित्रकार लगायत १५ जना कलाकार विभिन्न पुरस्कार बाट पुरस्कृत भए । उनीहरूलाई वरिष्ठ चित्रकार शशि शाह, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, क्यानका अध्यक्ष प्रेम श्रेष्ठ, पूर्व मिस नेपाल शृङ्खला खतिवडा लगायतले पुरस्कृतहरूलाई प्रमाण पत्र र नगद पुरस्कार अर्पण गरेका पत्रकार समेत रहेका पुरस्कार स्थापनाकर्ता तिलक पुन पूर्जाले जानकारी दिए ।
