पोखरा चैत्र ६,
निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचित हुने ११० जना सांसदहरुलाई प्रमाण पत्र वितरण गरेको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा खसेको कुल सदर मतको ३० प्रतिशत कटाउने र प्रत्यक्ष तर्फ कम्तिमा १ सिट जित्ने राजनितीक दलले राष्ट्रिय दलको मान्यता पाउछन् । फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नपाल कम्युनिष्ट पार्टी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका छन् । जस अनुसार समानुपातिकमा रास्वपाले ५७, नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९ श्रम संस्कृति र राप्रपाले ४÷४ सांसद पाएका छन् । दलहरुले निर्वाचन आयोगमा पेस गरेको वन्द सूची अनुसार विभिन्न क्लष्टरहरु मिलाएर पठाएको अन्तिम नाम निर्वाचन आयोगले यस अघिनै सार्वजनिक गरिसकेको छ । चैत ५ गते विहिवार एक कार्यक्रमको आयोजना गरि समानुपातिक सांसदहरलाई आयोगले प्रमाण पत्रि वितरण गरेको छ ।
निर्वाचन आयोगले निर्वाचनका सम्पूर्ण काम सकेर राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको प्रतिवेदन वुझाएको छ ।राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन परिणाम ग्रहण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित वातावरणमा सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिए । प्रतिवेदन पेस गर्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनका सम्बन्धमा सम्पादन गरिएका काम र निर्वाचन परिणामको सारसंक्षेप प्रस्तुत गरेका थिए । निर्वाचन परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६ वटा राजनीतिक दलका १६४ जना र १ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १६५ जना उम्मेदवार निर्वाचित भएको, त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ ६ वटा राजनीतिक दलका ११० जना उम्मेदवार निर्वाचित भएका छन् । कुल २७५ जना सदस्य रहेको प्रतिनिधि सभामा पुरुष १७९ र महिला ९६ निर्वाचित भएका छन् । समावेशी विवरण अनुसार आदिवासी जनजाति समूहतर्फ २१.०९, खसआर्य समूहतर्फ ४९.०९, थारु समूहतर्फ ३.२७, दलित समूहतर्फ ६.१८, मधेसी समूहतर्फ १६.७३ र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत सदस्य निर्वाचित भएको वताए ।
एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा भाग लिने प्रयोजनका लागि १२ राजनीतिक दलले ५ वटा र १०२ राजनीतिक दलले आ–आफ्नो चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने गरी जम्मा ११४ दलले १०७ वटा चुनाव चिन्हमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन दल दर्ता गराएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा चुनाव चिन्हमा ६५ राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ वटा निर्वाचन चिन्हमा ६३ राजनीतिक दल निर्वाचनमा सहभागी थिए ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला ३८८, पुरुष ३०१७ र अन्यबाट १ गरी कुल ३४०६ जनाको अन्तिम उम्मेदवारी कायम रहेको थियो । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १७७२ र पुरुष १३६३ गरी ३१३५ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड ११ लाख ६८ हजार ३२ मतदान भएकोमा १ करोड ५ लाख ५९ हजार १७ (९४.५५%) मत सदर भएकोमा ५.४५ प्रतिशत मत बदर भएको छ । यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ८१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ (९६.०५%) मत सदर भएकोमा ३.९५ प्रतिशत मत बदर भएको छ। दुबै निर्वाचन प्रणालीतर्फ गरी औसत बदर मतको प्रतिशत ४.७ रहको छ ।
निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको र सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका संगठित संस्थासँग सम्झौता गरी खरिद गरिएका आयोगले जनाएको छ । ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो। निर्वाचन प्रयोजनका लागि आयोगबाट ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको आयोले जनाएको छ । प्राप्त रकममध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ९९६ रुपैयाँ खर्च भएको र खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले प्रर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकोमा अन्तर्राष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र ३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका र राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेको आयोगले जनाएको छ ।
विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधिमूलक लोकतन्त्रको यस अभ्यासमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवम् सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकोमा सम्पूर्ण मतदाताहरुलाई आयोगले धन्यवादसहित आभार प्रकट गरेको छ साथै निर्वाचन सम्पन्न गराउने यस ऐतिहासिक कार्यमा संलग्न भई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, सबै सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम एवम् सञ्चारकर्मी सबैप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ ।
