पोखरा साउन २९,
कास्कीको अन्नपूर्ण गाउँपालिकामा आएको भीषण बाढीका कारण मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरी बलले करिब ६ घण्टाको प्रयासपछि सकुशल उद्धार गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमाना, नयाँपुल–बिरेठाँटी सडकखण्डको छेउमा मोदीखोलाको बीचमा रहेको मन्दिरमा बाढी पसेपछि एक जना पुजारी र दुई जना भक्तजन उद्धारको पर्खाइमा फसेका थिए । बाढीले मन्दिर आवतजावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मेटल पुलसमेत बगाएको तथा मन्दिरको करिब आधा भाग क्षतिग्रस्त बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।
घटनाको सूचना बिहीबार बिहान २ बजेर १५ मिनेटमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको कमान्डमा रोप रेस्क्यु तथा गोताखोरसहित १३ जनाको टोली आवश्यक विपद् उद्धार सामग्री लिएर घटनास्थलतर्फ परिचालन भएको थियो । त्यस्तै, वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा १६ जना प्रहरीको टोली पनि उद्धारमा खटिएको थियो ।
दुवै टोली बिहान २ बजेर ३५ मिनेटमा घटनास्थलतर्फ परिचालन भएका थिए । मोदीखोलामा पानीको बहाव अत्यधिक भएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। उद्धार टोलीले बिहान ५ बजेर १५ मिनेटदेखि रोप रेस्क्युका लागि आवश्यक रोपको बेस निर्माण गर्ने काम सुरु गरेको थियो ।
करिब दुई घण्टाको तयारीपछि बिहान ७ बजेर ३५ मिनेटमा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक देवराज खनाल र प्रहरी सहायक निरीक्षक सन्तोष बाँनिया रोपको सहायताबाट खोला पारि पुगे। उनीहरूले उद्धारका लागि आवश्यक रोपको बेस तयार गरेपछि सशस्त्र प्रहरी सहायक हवल्दार इन्द्रबहादुर गुरुङ र सशस्त्र प्रहरी जवान जनक बुढा थप सहयोगका लागि खोला पारि पुगेका थिए ।
उद्धार टोलीले रोप रेस्क्यु विधिको प्रयोग गर्दै जोखिमपूर्ण अवस्थामा मन्दिरमा फसेका तीनै जनालाई एक–एक गर्दै सुरक्षित स्थानमा ल्याएको हो। बिहान ७ बजेर ५५ मिनेटदेखि ८ बजेर १५ मिनेटसम्म करिब २० मिनेट लगाएर तीनै जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उद्धार गरिएकामध्ये पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल भक्तजनका रूपमा मन्दिरमा पुगेका थिए। अर्का सर्लाही घर भई अन्नपूर्ण गाउँपालिका–८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत करिब ३० वर्षीय रेवन्तप्रसाद सिंह रहेका छन् ।
त्यस्तै, मन्दिरका पुजारी करिब ५२ वर्षीय निर्माण गिरी पनि बाढीका कारण मन्दिरमै फसेका थिए । भारतीय नागरिक गिरी विगत पाँच वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा कार्यरत रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
मोदीखोलामा आएको बाढीले मन्दिरमा मात्रै हैन अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडक खण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडक बगाएको प्रहरीले जनाएको छ । सडक बाढीले बगाएपछि उक्त सडकखण्डमा यातायातसमेत अवरुद्ध भएको थियो ।
बाढीका कारण नयाँपुलस्थित विद्युत्को पोलसमेत बगाएको छ । विद्युत् पोल बगाएपछि उक्त क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक र विद्युत् संरचनामा भएको क्षतिका कारण स्थानीय बासिन्दाका साथै घान्द्रुक, बिरेठाँटी तथा आसपासका क्षेत्रमा आवतजावत र दैनिक जनजीवन प्रभावित भएको वताईएको छ । बाढीबाट भएको क्षतिको अवस्था बुझ्न तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू समेत स्थलगत निरीक्षणमा पुगेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।