पोखरा भाद्र २७,
पुष्पलाल मित्रता केन्द्रको आयोजनामा आज पोखरामा मुलुकको वर्तमान अवस्थामा बामपन्थी दलहरुको भूमिका विषयक बिचार गोष्ठी सम्पन्न भयो । कार्यक्रममा वोल्ने वामपन्थी नेताहरु तथा बाम बुद्धिजिवीहरुले यथास्थितीमा हैन परिवर्तन सहितको बामपन्थी एकतामा जोड दिएका छन् । कार्यक्रमका प्रमुख बक्ता नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले नेपालका बामपन्थी पार्टीहरु छरिएर वस्नुको कुनै पनि औचित्य नरहेको वताए । केवल नेताहुनका लागि मात्रै कम्युनिष्ट पार्टी आवश्यक नपर्ने र त्यसले मुलुक र जनतालाई केही दिन नसक्ने भएकाले नेपालका कम्युनिष्टहरुले नेपालको वर्तमान अवस्था, युवाहरुको चाहाना, र बस्तुनिष्ट अवस्थालाई नयाँ ढंगले सोच्नुपर्ने पाण्डेले वताए । यदी नयाँ तरिकाले नसोच्ने र पुरानै ढर्राले अगाडि वढ्ने हो भने आफु सक्किएको थाहा नपाई नेपालका कम्युनिष्टहरु सक्किने पाण्डेले वताए । यतिवेला नेपालका कम्युनिष्ट पार्टीमा केन्द्रियताको नाममा नेतृत्व निरंकुश वन्दै गईरहेको पाण्डेले वताए । पद , प्रतिष्ठा, शक्ति र सत्ताा भनेका कुराहरु याछाँ जस्तै एक दिन विलाएर जाने वस्तु भएकाले त्यसैका लागि मरिहत्ते गर्ने प्रवृतिले समस्या निम्त्याएको पाण्डेले वताए । बिपद र सुख आउने जाने भन्दै हाल नेपालका कम्युनिष्टहरुमा विपद आईलागेको वताउदै पाण्डेले नेपालका कम्युनिष्टहरु सच्चिएर अगाडि वढेमा सुख पनि आउने वताए ।
कार्यक्रमका विषेश बक्ता नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय कार्यसंयोजन समितिका सदस्य तथा गण्डकीका ईञ्चार्ज देवेन्द्र पौडेलले बामपन्थी एकातामा जोड दिदै बामपन्थको पुर्नगठनका लागि सवैले आ आफ्नो ठाँउवाट आत्म समिक्षा गर्नुपर्ने वताए । सवै कुरा सिद्धियो, वर्वाद भयो भन्ने हैन भन्दै हिजो शासन चलाउदा ढंग नपुगेको, पालै पालो भागवण्डा गरेर सरकार चलाएको, शैली नमिलेको जस्ता कुराले आज नेपालको कम्युनिष्ट आन्दोलनले अतिकति धक्का मात्रै खाएको हो भन्दै सवै सकियो भन्ने भाष्य गलत भएको पौडेलले वताए । बामपन्थीहरु विचको सहकार्य प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकार चलाउने सहमती गरेर सुरुवात गरेको वताउदै पौडेलले आगामी दिनमा पनि सहकार्य गर्दै जाने वताए । आज मुलुकमा बामपन्थीहरुले लागु गरेका, सृजना गरेका कुराहरु सिद्धयाउनका लागि सरकार कम्मर कसेर लागेको पौडेलले वताए । कुनै ब्यक्ति विषेशलाई प्रहार गरेर उसका गल्ति देखाएर बामपन्थी एकता हुन नसक्ने पौडेलले वताए । कार्यक्रमका अर्का वक्ता नेकपा एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले २०८२ सालको निर्वाचनको पराजय भनेको नेतृत्व प्रतिको वितिष्णाको परिणाम भएको वताए । माक्सवाद लेनीनवादलाई मार्गदर्शक सिदान्त वनाएर सवै वामपन्थी पार्टीहरु विच एकता हुनेपर्ने शर्माले वताए ।
राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर वरालले राजनितीक दलहरु भित्रै साम्राज्यवाद पसेको आरोप लगाउदै वर्तमान अवस्थावाट मुक्ति पाउन वाम मात्रै हैन प्रजातान्त्रिक शक्तिहरु विचको सहकार्य आवश्यक रहेको वताए । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केश वहादुर परियारले यो भन्दा कठिन अवस्था नेपालका कम्युनिष्टहरुका लागि नआउने वताउदै यस्तो वेलामा म ठूलो त सानो नभनीकन सवै बामपन्थीहरु विच एकताको आवश्यकता रहेको वताए । नेकपा माओवादीकी केन्द्रिय सदस्य सावित्रा दुरालेचुनाव जित्दा खेरी कुनै समिक्षा नगर्ने हार्दा समिक्षा गरेर त्यसको अर्थ नहुने भन्दै सत्तामा जानका लागि मात्रै गरिएको एकता नटिक्ने वताईन् । पार्टी एकताको वातावरण निर्माणका लागि पहिला संयुक्त मोर्चा वनाउनुपर्ने उनको तर्क थियो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता श्रीनाथ वरालले कम्युनिष्ट पार्टिहरुले धक्का खाएको वखत आत्म समिक्षा गर्दै एकिकृत कम्युनिष्ट पार्टी वनाउन लाग्नुपर्ने वताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली जनताले मत मात्रै वदलेका हुन् मन वदलेका हैनन् भन्दै कम्युनिष्ट पार्टीहरु सच्चिएर आएको खण्डमा फेरी पनि जनताको मत कम्युनिष्टहरुलाईनै आउने वताए । बाम वुद्धिजिवी रामराज रेग्मीले अहिले नेपालका कम्युनिष्टहरु माथिवाट पनि आक्रमणमा पर्ने तलवाट पनि जनताले साथ नदिने अवस्थामा रहेको वताउदै नेताहरुले मौका पाउदा पनि काम नगरेर जनताको आत्म सम्मानमा चोट पु¥याएको वताए । अर्का वाम वुद्धिजिवी गेहेन्द्रश्वर कोईरालाले वर्तमान सरकारले धर्म निरपेक्षतालाई धज्जी उडाएको भन्दै प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरुको आलोचना गरे । कम्युनिष्ट पार्टीका नेताहरुकै व्यवाहारवाट अहिलेको अवस्था आएको उनले वताए । पुष्पलाल मित्रता केन्द्रका केन्द्रिय सदस्य दिल कुमारी पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सो संस्थाका केन्द्रिय अध्यक्ष जगन्नाथ खतिवडाले बामपन्थी एकता आजको मुलुकको आवश्यकता भएको वताउदै त्यसको वातावरण निर्माणका लागि आफुहरुको प्रयत्न रहेको भन्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । सो नेकपाका केन्द्रिय सदस्य तथा सो संस्थाका सदस्य पूर्ण लामाले सञ्चालन गरेको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीकी केन्द्रिय सदस्य तेज कुमारी पौडेलले स्वागत गरेकी थिईन् । कार्यक्रममा नेकपा एमालेका सचिव खगराज अधिकारी आउने भनेर प्रचार गरिएको भएपनि अधिकारी कार्यक्रममा आएनन् ।

