पोखरा, ६ असोज ।
पोखरा महानगरपालिका १४, चाउथेमा रहेको एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औ अधिवेसन तथा १५ औ साधारण सभा असोज ३ गते शनिवार सम्पन्न भएको छ । अधिवेशनले रामबहादुर मगरको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा प्रकाश केसी, (शिव)सचिवमा भरतमणि भट्टराई र कोषाध्यक्षमा ज्योति तामाङ निर्वाचित भएका छन् । सञ्चालक समिति सदस्यमा निर्मला पौडेल, अमृता केसी, भुवनराज न्यौपाने, लीलाबहादुर घर्ती क्षेत्री र कर्णबहादुर थापा निर्वाचित भए । अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा जयमोहन भट्टराई तथा सदस्यमा विष्णुहरि सुवेदी र रिता सुवेदीलाई निर्वाचित गरेको छ ।
यस अधि अधिवेशनको उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष बालासिंह काउछा मगरले सहकारी संस्था सहकारी ऐन, नियम र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले एकता सहकारी संस्थागत रूपमा मजबुत रहेको उल्लेख गर्दै आगामी दिनमा शेयर सदस्यको हितलाई केन्द्रमा राखेर थप जिम्मेवार ढंगले काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा सल्लाहकार बजिरमान श्रेष्ठले सहकारीका नीति, नियम र सिद्धान्तलाई व्यवहारमै कडाइका साथ लागू गर्नुपर्ने बताए । एकता सहकारीको अवस्था सवल रहेको वताउदै ढुक्क संग कारोवार गर्न उनले शेयर सदस्यहरुलाई आग्रह गरे । अर्का सल्लाहकार नवराज सुवेदीले सहकारीले केवल वचत तथा ऋणको कारावोर मात्रै गर्ने नभई शेयर सदस्यहरुको आर्थिक संमृद्धिमा समेत महत्वपूर्ण योगदान पु¥याउनुपर्ने वताए । सहकारी संसथालाई सफल वनाउन सञ्चालक समिति, शेयर सदस्य र कर्मचारीहरु विच सहकार्यको खाँचो रहेको वताउदै पारदर्शिताले मात्रै शेयर सदस्यहरुको विश्वास आर्जन गर्न सकिने उनले वताए ।
संस्थाका अध्यक्ष सुदर्शन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक बिश्वनाथ ओझा र शेयर सदस्यहरुको तर्फवाट संस्थापक शेयर सदस्य थान वहादुर खड्का लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा उपाध्यक्ष तिलकप्रसाद तिवारीले स्वागत गरेका थिए भने सचिव रामबहादुर थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए । अधिवेसनले अध्यक्ष पौडेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष खुमबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक विश्वनाथ ओझाले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।
साधारण सभाका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य, कर्मचारी तथा विद्यार्थीलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकतर्फ पुरुष तर्फ पूर्णलाल राजभण्डारी र महिला तर्फ कमलादेवी गोदार सम्मानित भए, उत्कृष्ट बचतकर्ताका रूपमा सदीप पौडेल र मेनुका भुजेल भण्डारी तथा उत्कृष्ट कारोबारीका रूपमा सूर्यप्रसाद पोख्रेल र सुशीला थापा पुनलाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट कर्मचारीका रूपमा सहकारीका ब्यवस्थापक दिनेशमूर्ति पन्तलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने सौगात सुवेदी र आयुष्मा तिवारीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।