पोखरा असोज २३,
पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भीरमा आज बिहान स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ । माझठानाको सौर्यबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा कालिका बोर्डिङ स्कुलका विद्यार्थी, बस चालक तथा अन्य यात्रु गरि १२ जना घाइते भएका छन् । घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये १५ वर्षीया ममता तिवारी, १५ वर्षीया सुवेच्छा तिवारी, १३ वर्षीय असिम कँडेल र परिचय खुल्न बाँकी रहेकी करिब १५ वर्षीया एक छात्रा रहेका छन् । त्यस्तै, उपचारका लागि लिफ्ट मागेर बसमा चढेका पोखरा–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका केही विद्यार्थीको अवस्था गम्भीर रहेको वताईन्छ । दुर्घटनामा बस चालक तुलबहादुर गुरुङ पनि घाइते भएका छन् । बस दुर्घटनामा परेको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य अघि बढाइएको र भीरबाट तल खसेको बसमा रहेका घाइतेलाई निकालेर उपचारका लागि अस्पताल पु¥याइएको थियो । दुर्घटनामा बस सडकबाट निकै तल खसेका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको भएपनि घटनालगत्तै घाइतेको उद्धारगरि अस्पताल पु¥याईएको थियो ।
यसै विच उक्त स्कूल वस दुर्घट्नाको सत्यतथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन् । दुर्घटनाको कारण पहिचान गर्ने, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन गर्ने र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सिफारिस गर्ने उद्देश्यले समिति गठन गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनाएका छन् । समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
यस घट्नाले कलिला विद्यार्थीहरु विद्यालय जाँदा पनि सुरक्षीत छैनन् भन्ने कुरा एकपटक फेरी प्रमाणित गरिदिएको छ । हुन त दुर्घट्ना भन्ने कुरा अप्रत्यासित रुपमा हुने कुरा हो तर पनि विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको बस दुर्घटनामा पर्दा भएको मानवीय क्षतिले विद्यालयका सवारीसाधनको सुरक्षा र विद्यार्थीको आवागमन व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ । विद्यालयका बसको नियमित प्राविधिक परीक्षण, चालकको दक्षता, आनीवानी चरित्र र सवारीसाधनको अवस्था, यात्रु क्षमताको पालना र जोखिमयुक्त सडकखण्डमा अपनाउनुपर्ने सावधानी विद्यार्थीको सुरक्षासँग प्रत्यक्ष जोडिएका विषय हुन् । दुर्घटनाको वास्तविक कारण भने छानबिनबाट मात्रै स्पष्ट हुनेछ । तथापि विद्यार्थीलाई सुरक्षित रूपमा विद्यालय पु¥याउनु विद्यालय, अभिभावक, चालक, स्थानीय सरकार र सम्बन्धित नियामक निकाय सबैको जिम्मेवारी हो । पोखरा–२८ मा भएको यस दुर्घटनाले विद्यार्थीको सुरक्षित आवागमनलाई सामान्य व्यवस्थापनको विषय नभई जीवन रक्षासँग जोडिएको गम्भीर दायित्वका रूपमा लिनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ ।
