पोखरा असार २३,
पोखरा महानगरपालिकाद्धारा सञ्चालित निःशुल्क छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशन भएको छ । शनिवार सम्पन्न परीक्षाको ओएमआर प्रविधिद्वारा उत्तर पुस्तिका परीक्षण गरी नतिजा प्रकाशन गरिएको पोखरा महानगरपालिकाले जनाएको छ ।
एसईई परीक्षामा पास भई महानगर क्षेत्रमा सञ्चालित संस्थागत विद्यालयहरूमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको सुविधाका लागि महानगरपालिकाले प्रत्येक वर्ष छनौट परीक्षा लिने गरेको छ । यस वर्ष विज्ञान विषयतर्फ १६२ जना, व्यवस्थापन तर्फ २४१ जना, होटेल व्यवस्थापन तर्फ ८० जना, कानुन, मानविकी र शिक्षा तर्फ १४ जना गरी ४९७ जना विपन्न, गरिब, जनजाति, दलित र जेहनदार लगायत लक्ष्ति समुदायका छात्रछात्राहरूलाई महानगरपालिकाले निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको हो ।
यस वर्षको छात्रवृत्ति छनौट परीक्षालाई थप व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउने उद्देश्यले परीक्षणमा समेत ओएमआर प्रविधिको प्रयोग गरिएको प्रमुख धनराज आचार्यले वताए । परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई तोकिएका विद्यालयहरूमा निःशुल्क अध्ययनका लागि महानगरपालिकाले थप सहजीकरण गर्ने आचार्यले वताए । महानगरद्वारा सिफारिस गरिएका विद्यार्थीहरूलाई अनिवार्य भर्नाका लागि सम्बन्धित विद्यालयहरूलाई प्रमुख आचार्यले निर्देशन समेत दिएका छन् ।
उत्तीर्ण विद्यार्थीहरूलाई यही असार २५ गते भित्र शिक्षा महाशाखामा सम्पर्क गरी भर्ना प्रक्रिया अगाडी बढाउन महानगरपालिकाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।