पोखरा असार २४,
पोखरा महानगरपालिकाले २ जना कृषकहरूलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ । कृषि तर्फ पोखरा २५ मा सञ्चालित सावित्री हराभरा एकीकृत कृषि फर्मका सञ्चालक चित्रनाथ पौडेल र पशुपालन तर्फ पोखरा १९ मा सञ्चालित नेपाल लाइभ स्टक एन्ड रिसर्च सेन्टरकी सञ्चालक सरस्वती बस्ताकोटीलाई यस वर्षको महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरिएको हो । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सोमवार नगद र सम्मान पत्रले सम्मान गरेका थिए ।
सम्मानित कृषक पौडेलले ३३ रोपनी क्षेत्रफलमा विभिन्न प्रकारको खेती गरेका छन् । उनले १० रोपनीमा धान, ४ रोपनीमा वर्षे तरकारी, ४ रोपनीमा हिउँदे तरकारी, १८ रोपनीमा बेमौसमी तरकारी खेती गरेका छन् । २०५५ सालमा २ वटा प्लास्टिक घरबाट सुरु भएको कृषि व्यवसाय हाल ९५ वटा प्लास्टिक घरमा विस्तार भएको पौडेलले वताए । सय जनालाई रोजगारी र लाखौँ रुपैयाँ आम्दानी हुने गरेको पौडेल वताउछन् । आफु उत्कृष्ट महानगर कृषकको रूपमा सम्मानित हुन पाउँदा खुसी लागेको वताउदै कृषकहरूलाई प्रविधि र ज्ञान हस्तान्तरणमा सहयोग गर्न पौडेलले आग्रह गरेका छन् । यस्तै अर्की सम्मानित कृषक बस्ताकोटीले पोखरा १९ मा १७ रोपनीमा घान खेती, २०० बङ्गुरहरू रहेको वंगुर फर्म छ । गाई फार्मवाटे दैनिक २०० लिटर दूध समेत उत्पादन गर्दै आएकी छन् ।
सो अवसरमा महानगरपालिकाका उल्लेखनीय कार्य गर्ने थप १० कृषक समूहहरूलाई पनि सम्मान प्रदान गरिएको छ । कृषि एम्बुलेन्स परिचालन, साप्ताहिक हाट बजार सञ्चालन र कौसी खेती व्यवस्थित रूपमा सञ्चालन गरेबापत वडा स्तरीय कृषि सञ्जाल वडा नं.७, मौरी पकेट कार्यक्रम र नियमित अनुगमन बापत वडा स्तरीय कृषि सञ्जाल वडा नं.१६, व्यवसायीक कागुनो खेती, गहुँ उत्पादन र तरबुजा खेती प्रवद्र्धन बापत पिपल डाली काफल घारी कृषक समूह पोखरा २८, नियमित किसान बजार सञ्चालन गर्ने किसान बजार व्यवस्थापन समिति पोखरा १३ र स्थानीय बालिका जात संरक्षणमा क्रियाशील जैविक स्रोत अभियान बेगनास पोखरा ३१ लाई नगद सहित सम्मान गरिएको हो ।
यस्तै व्यवसायीक काँक्रो खेती गर्ने उल्लेरी चिप्लेटी अन्नपूर्ण कृषक समूह पोखरा २२, रासायनिक मल वितरणलाई व्यवस्थित गर्ने प्रभु धाम हरियाली कृषि सहकारी पोखरा १३, कागती सुन्तला, कफी, घाँसका बिरुवाहरू उत्पादन गर्ने कयरबारी बहुउद्देश्यीय कृषि नर्सरी पोखरा २३, भर्मी कम्पोस्ट मल उत्पादन गर्ने ग्रिन नेपाल जननी भर्मीकम्पोष्ट पोखरा १४ र जेठो बुढो तथा आलुको बिउ उत्पादन गर्ने लक्ष्मी सिड सेन्टरलाई पनि सम्मान गरिएको छ ।
कृषक तथा कृषक समूहलाई सम्मान प्रदान गर्दै प्रमुख आचार्यले महानगरपालिका क्षेत्रको कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धिमा आफूहरूले जोड दिइरहेको वताए । कृषि उपजमा महानगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि उत्पादन वृद्धिमा प्रमुख आचार्यको जोड रहेको थियो । कृषकहरूलाई आवश्यक प्राविधिक सेवा सहित मल, बिउ, बिरुवा र पशुपालनमा समेत प्रोत्साहनका थुप्रै कार्यक्रमहरूमा अनुदान तथा साझेदारी गर्न सकिने वताए । सो अवसरमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले महानगरपालिकाले कृषिको क्षेत्रमा गरेका कामहरु र भएका उपलब्धीहरुको वारेमा चर्चा गरेका थिए ।