पोखरा फागुन १४,
– नवराज सुवेदी,
प्रतिनिधि सभाको निर्वाचन आउन १ हप्ता मात्रै वाँकी छ । २०७९ सालमा भएको प्रतिनिधि सभाको निर्वाचन आउन अझै २ वर्ष वाँकी थियो तर मुलुमा विषेश परिस्थती उत्पन्न भएका कारण २ वर्ष अगाडि अर्थात २०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ सालमा हुन लागेको छ । यसको एउटै कारण हो जेन्जी आन्दोलन । जेन्जी आन्दोलनले पुरानो सत्ता ( काँग्रेस एमालेले नेतृत्व गरेको ) ढाली दियो त्यती मात्रै गरेन जेन्जी आन्दोलनले प्रतिनिधि सभा पनि भंग गरिदियो अर्थात नयाँ जनादेशको माग ग¥यो । सोही कारण मुलुकमा निर्वाचन हुन लागेको हो । यो नियमित चुनाव हैन , किन चुनाव हुन लागेको हो र यो चुनावले मागेको के हो भन्ने कुरा आम जनताले वुझ्न जरुरी छ । निर्वाचन केवल एउटा प्रक्रिया मात्रै हैन । यो मुलुक वनाउने अठोट भएका जनप्रतिनिधिहरुलाई जिताउने महा अभियान पनि हो यसै अर्थमा सवैले निर्वाचनलाई वुझ्नु पर्दछ । हिजोका दिनहरुमा धेरै निर्वाचन हरु भए । जनताले धेरै जनप्रतिनिधिहरुलाई चुनेर पठाए । कतै हिजोका निर्वाचनहरु प्रक्रियामा मात्रै सिमत त भएनन् भन्ने कुरा आजको मुलुकको अवस्थाले दर्शाईरहेको छ भन्ने कुरा वुझ्नु पर्दछ । अव जनप्रतिनिधिहरुलाई मत दिने मतदाताहरु पनि जिम्वेवार वन्नु पर्दछ । मत दिईयो , एक थान जनप्रतिनिधि चुनीयो भनेर अव मतदाताले पनि सुख पाउने अवस्था छैन । आफुले मत दिएको जनप्रतिनिधिले मुलुकको लागि के योगदान दिन सक्दछ, योगदान दिन्छ की दिदैन अथवा उ मुलुक र जनता प्रति जिम्वेवार छ की आफ्नो दल र आफ्ना नेता प्रति मात्रै जिम्वेवार छ भन्ने कुरा जनताले नवुझ्ने हो भने यो निर्वाचन पनि केवल विगतको जस्तै प्रक्रियामै सिमित हुने देखिन्छ ।
मुलुकले साँच्चिकै परिवर्तन खोजेको छ । नेपालमा राजनितीक परिवर्तनहरु धेरै भए तर जनताको अवस्थामा परिवर्तन भएन । प्रजातन्त्र, लोकतन्त्र हुँदै राजा फालेर गणतन्त्र सम्म आईपुग्दा नेपाली जनताको मुहारमा खुसी आएन । सिमित राजनितिक दलका केही नेता कार्यकर्ताहरुको मुहारमा खुसी आयो , उनिहरुको जीवनस्तरमा पनि परिवर्तन आयो तर आम नेपाली जनताको अवस्थामा परिवर्तन भएन झनै कष्टकर वन्दै गयो । शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताका कुराहरु निक्कै महङ्गा भए जनतालाई निशुल्क गरिनुपर्ने त्यस्ता क्षेत्रहरुमा चरम रुपमा व्पायापार हुन थाल्यो तर जनताको मत लिएर निर्वाचित भएर गएका जनप्रतिनिधि तथा साशन सत्ता सञ्चालन गर्ने दलहरु जनताको पक्षमा बोलेनन् उनिहरुलेनै झनै शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा व्यापारको वातावरण मिलाईदिए । जनता आँसु पिएर वस्न वाद्य भए । जो आए पनि , जसलाई मत दिएपनि उस्तै हुँदो रहेछ भन्ने निराशाको अवस्थामा जनता पुगे । आलोपालो शासन सत्तामा पुग्ने, लोकतन्त्रको मर्म विपरित गठवन्धन गरेर चुनाव लड्ने, छुट्टै पार्टीको उमेद्धवार अर्कै पार्टीको चुनाव चिन्हवाट चुनाव लड्ने, संसदीय मूल्य मान्यतालाई लत्याउदै संसदमा पहिलो र दोस्रो ठूलो दल गठवन्धन गरेर सरकार वनाउने , सरकारका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त हुँदा समेत उनिहरु प्रति कुनै पनि प्रकारको एक्सन नलिने,र आफ्नो मान्छेले भ्रष्टाचार गरेको छ भने उसलाई वचाउने र अर्को पार्टीको मानिसलाई खोजी खोजी फसाउने जस्ता क्रियाकलाप गरेर लोकतन्त्रको हुर्मत ठूला भनिएका दलहरुवाट लिईयो । यसैको परिणतीस्वरुप मुलुकमा जेन्जी विद्रोह भयो । ठूला भनिएका दलहरुको सत्ता मात्रै ढलेन जनताको प्रतिनिधिमुलक संस्था संसद समेत विगठन भएर चुनाव गर्नुपर्ने अवस्था आयो ।
जेन्जी विद्रोहको जगमा यो निर्वाचन हुन लागेको हो । यो कुरा कसैले पनि विर्सन हुदैन । जेन्जी आन्दोलन किन भएको थियो ? जेन्जी विद्रोहको माग र मर्म के थियो ? ती अवोध स्कूले विद्यार्थीहरुले के का लागि आफ्नो रगत वगाएका थिए ? मुलुकको परिवर्तनका लागि, जनताको अवस्था परिवर्तनका लागि, मुलुकमा भ्रष्टाचारको समूल अन्त्यका लागि, शुसासन र पारदर्शिताका लागि,विदेश जानुपर्ने वाद्यताको अन्तयका लागि नकी फेरी पनि एक थान जनप्रतिनिधि चयन गर्ने, सरकार वनाउने र उस्तै अवस्थामा रमाउनका लागि जेन्जी आन्दोलन भएको हैन र यो निर्वाचन पनि हुन लागेको हैन । यो कुरा सवै मतदाताहरुले वुझ्नुपर्दछ । मुलुकले परिवर्तन खोजेको छ । मुलुकको हरेक क्षेत्रमा परिवर्तन हुन जरुरी छ । अव केवल नारामा मात्रै र भाषणमा मात्रै परिवर्तन हैन ब्यवाहारमा परिवर्तन हुनुपर्दछ । जनतालाई अव आश्वासन हैन हाताहाती चाहिएको छ । विगतमा कोही ठूलो नेता थियो भन्ने आधारमा उसलाई मत दिने हैन । अव मैले जिताएर पठाएको जनप्रतिनिधिले जनताको र मुलुकको पक्षमा कस्तो निती वनाउछ, कस्तो काम गर्दछ भन्ने आधारमा जनताले मत दिनु पर्दछ । यस पटकको मत भनेको मुलुकको विकास र जनताको अवस्थामा परिवर्तनका लागि हुनुपर्दछ । सवैले यो कुरा वुझ्ने हो भने यो निर्वाचनको सार्थकता रहन्छ ।
