पोखरा फागुन १९,
नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा–१७ घारीपाटनले आइतबार आफ्नो ३३औँ वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको उद्धघाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । सो अवसरमा वोल्दै आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको साथ आवश्यक रहेको वताए । उपाध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले पोखरा–१७ का बासिन्दालाई दर्ता शुल्क निःशुल्क गर्ने घोषणा गरे । महासचिव भरतबहादुर चन्दले सेवा विस्तारको आवश्यकता औँल्याए । अस्पत्तालका मेडिकल डाइरेक्टर डा . बबिता गुरुङले वि .सं . २०४९ (सन् १९९३) मा स्थापित यस अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी दिइन् ।
बार्षिकोत्सवका अवसरमा अस्पतालले उत्कृष्ट कर्मचारीका रूपमा डा . अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठलाई सम्मानित ग¥यो । विभागतर्फ ‘जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिट’ पुरस्कृत भयो । यस्तै, लामो समय योगदान दिने कर्मचारीहरू गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडु, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दिप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाही सम्मानित भएको अस्पतालले जनाएको छ ।
अस्पतालका साझेदार संस्थाहरू आई केयर फाउन्डेसन, कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन, व्यावसायिक महिला क्लब पोखरा, रोटरी क्लब अफ पोखरा फिस्टेल, मुटु फाउन्डेसन काठमाडौँ, युवा बौद्ध संघ पोखरा, कर्मा फ्लाइट्स र रिडले आई फाउन्डेसनलाई पनि प्रशंसापत्र प्रदान गरियो ।
सन् २०२५ मा मात्रै २ लाख ४७ हजार ५८५ जनाले ओपिडी सेवा लिएका र १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको निर्देशक डा. गुरुङले वताईन् । अस्पताल व्यवस्थापन समिति अध्यक्ष बरिष्ठ अधिबक्ता सुरेन्द्र थापामगरले ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा अहिले १२५ जना नेपाली दक्ष जनशक्ति कार्यरत रहेको बताए ।
समारोहमा आई केयर फाउन्डेसनका कन्ट्री डाइरेक्टर अनिल गोर्खाली, संघका केन्द्रीय सदस्य डा. नन्द श्रेष्ठ, बिजिनेस एण्ड प्रोफेसनल वुमन ग्रुपकी प्रतिनिधि हरिमाया शर्मा, कादुरीका क्याप्टेन राजन राई, गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्रवणकुमार जोशी र कर्मचारी गोविन्दनाथ योगी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । अस्पतालले हाल गण्डकी र कर्णालीमा २७ वटा उपचार केन्द्र र २ वटा सहायक अस्पतालमार्फत सेवा दिइरहेको छ ।
