पोखरा असोज २३,
रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले संस्थाका प्रथम उपाध्यक्ष बसन्त गौतमलाई २७ औ पोखरा सडक महोत्सवको संयोजक वनाएको छ । आज २३ गते वसेको कार्यसमितिको वैठकले आगामी पौष १३ गते देखि १७ गते सम्म आयोजना हुने २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सवको संयोजकमा रेवानका प्रथम उपाध्यक्ष गौतमलाई चयन गरेको हो । त्यसै गरि वैठकले सह संयोजकमा कार्यसमिति सदस्य सुनिल वहादुर भट्टराई र सुमन भट्टराईलाई मनोनित गरेको रेवान पोखराका अध्यक्ष विश्वरा पौडेलले जानकारी दिए । यसै गरि अध्यक्ष विश्व राज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशन जंग कार्की रहेको ६ सदस्यीय स्टेरिङ कमिटी वनाईएको छ । विगत २६ वर्ष देखी सुन्दर पर्यटकिय नगरी पोखराको लेकसाइड क्षेत्रमा अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव आयोजना गरिदै आएको छ
।
“सडक मै खाउ, सडक मै नाँचौ र सडकमै रमाउँ” भन्ने उद्देश्यका साथ आयोजना भईरहेको सडक महोत्सवले पोखरामा एउटा गर्विलो इतिहास बोकेको छ । परिवर्तित समय सँगै महोत्सवलाई अलि पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि ग्रहण गर्ने रेवानले जनाएको छ । कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार वढाउन , ब्राण्डिङ गर्न तथा अवलोकन गराउने थलो पोखरा सडक महोत्सव वनेको छ । यो पोखराको एउटा छुट्टै ब्राण्ड पनि बनिसकेको छ । आन्तरिक तथा वाह्य पर्यटक आकर्षण गर्न गरेर विदेशी मुद्रा भित्र्याउन सडक महोत्सवको अहंम भूमिका रेहको छ । महोत्सव सफल पार्न रेवानले सवै पक्षसंग सहयोगको अपेक्षा गरेको छ ।