पोखरा कार्तिक १४,
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पोखराको प्रदेश प्रहरी कार्यालयको प्राङ्गण्मा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको शुक्रबार एक कार्यक्रमबीच भर्चुअल रुपमा उद्घाटन गरेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै गुणस्तरीय इन्धनको माध्यमबाट नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न समायनुकुल परिवर्तित आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न प्रहरीलाई निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागिहरुलाई नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले स्वागत र गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक चिरञ्जिवी प्रताप महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल प्रहरी कल्याण कोषको कुल ९ करोड ९४ लाख ७४ हजार ६ सय ७६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण सम्पन्न भएको वताए । सो अवसरमा पेट्रोल पम्पको भर्चुयुल उद्धघाटन प्रहरी महानिरिक्षक खापुङले गरेको भएपनि नेपाल प्रहरी गण्डकी प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्ष दिनेश कुमार आचार्यले रिवन काटेका थिए ।

