पोखरा चैत ३०,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराको मुख्य वजार क्षेत्र जोड्ने पोखरा १० अमरसिंह चोकसम्म सुविधासम्पन्न इलेक्ट्रिक सटल बस सञ्चालन हुने भएको छ । नयाँ वर्ष २०८३ को अवसरमा नयाँ वर्षको प्रारम्भ सहित यो सेवा सुरु हुन लागेको पोखरा महानगरपालिकाले जनाएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार पोखरा महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था तथा मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । पाइलटिङ कार्यक्रमका रूपमा आगामी आषाढ मसान्तसम्म सटल बस निःशुल्क सञ्चालन गरिने र त्यसपछि स्थानीय व्यवसायीहरूले न्यूनतम शुल्कमा यो सेवालाई निरन्तर सञ्चालन गर्ने प्रमुख आचार्यले जनाएका छन् । उक्त सटल वस सेवाको नयाँ वर्ष अर्थात २०८३ साल वैशाख १ गते दिउसो २.३० वजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुभारम्भ कार्यक्रम हुने महानगरपालिकाले जनाएको छ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट हाल निशुल्क र श्रावण देखि न्यूनतम शुल्कमा वस सेवा सञ्चालन हुने भएपछि विमानस्थल सम्म जाने र विमानस्थलवाट वाहिरिने यात्रुहरुका लागि ठूलो राहत मिल्नेछ । यस भन्दा अगाडि पोखरा अन्तरष्ट्रिय विमानस्थलवाट वस नचल्दा यात्रुहरु चर्को भाडा तिर्न वाद्य थिए । पोखरा विमानस्थलवाट वाहिर जाने ट्याक्सीहरुले पोखराको पृथ्वीचोक , सृजनाचोक सम्म जानको लागि ८०० देखि १००० सम्म शुल्क लिईरहेका थिए । अझै लामो दूरीको शुल्क अझै धेरै तिर्न यात्रु वाद्य थिए । पोखरा महानगरपालिकाको पहलमा पोखरा विमानस्थलवाट सटल वस चल्ने भएपछि पोख्रेलीले पोखरा महानगपालिकाको यो कामको प्रसंसा गरेका छन् । यो सेवाले पोखराको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास लिईएको छ ।
