पोखरा, जेष्ठ९,
नेपाल पत्रकार महासंघ कास्कीको १८औ साधारण सभा तथा गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । सो अवसरमा गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार वाट ढोरपाटन दैनिकका सह सम्पादक लालप्रसाद शर्मा सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम वहादुर कार्कीले शर्मालाई सम्मान गरेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले शर्मालाई सम्मान गर्न नेपाल पत्रकार महासंघ कास्कीलाई सिफारिस गरेको थियो । सो समितिमा पत्रकार भरत कोईराला र रुपनारायण ढकाल सदस्य थिए । समितिमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव वराल र सचिव भूपाल गुरुङ पदेन सदस्य रहने व्यवस्था छ । पुरस्कारको राशी नगद २५ हजार सम्मान पत्र र दोसल्ला रहेको छ । सवारी दुर्घट्नामा निधन भएका पत्रकार स्व. गजेन्द्र भण्डारीको स्मृतिमा २०५४ सालमा भण्डारी परिवारले सुरुमा १ लाख र पछि सोही रकममा ३ लाख थप गरि रु ४ लाख को अक्षयकोष खडा गरि उक्त पुरस्कारको स्थापना गरेका हुन् । आज सम्मान कार्यक्रमका अवसरमा पुरस्कार स्थापनाकर्ता सरस्वती भण्डारीले १ लाख रुपयाँ थप गर्ने घोषणा गरेपछि उक्त पुरस्कारको अक्षयकोषमा रु ५ लाख पुगेको छ ।
महासंघको साधारण सभा तथा पुरस्कार अपर्ण कार्यक्रमको उद्धघाटन गर्दै गण्डकी प्रदेश सरकराका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले पत्रकारहरुले समाचार सम्प्रेसण गर्दा सत्य ,तथ्य र निश्पक्ष रुपमा समाचार संप्रेसण गर्नुपर्ने वताए । पत्रकारिता राज्य चौथो अंग भएकाले जिम्वेवारिता पनि त्यत्तिकै रहेको भन्दै कार्कीले आफुले समाचार सम्प्रेसण गर्नु अगाडि त्यसले पार्ने प्रभावको ख्याल गर्नुपर्ने वताए । सत्य र तथ्य विना सम्प्रेसण गरिएका समाचारहरुले समाजमा नकारात्मक असर पार्ने भएकाले यस कुरामा पत्रकारहरु स्वयम् सचेत हुनुपर्ने कार्कीले वताए । गण्डकी प्रदेशको सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको वताउदै हाल भईरहेको भन्दा केही थप गर्ने वारेमा छलफल गर्ने मन्त्री कार्कीले वताए । पत्रकारहरुको दक्षता अभिवृद्धि लगायतका विविध विषयमा प्रदेशको प्रेस रजिष्टार कार्यालयले काम गरिरहेको मन्त्री कार्कीले वताए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार माधव शर्माले स्व गजेन्द्र भण्डारी एउटा निडर र सहासिक ब्यक्ति भएको वताउदै दुर्घट्नामा निधन भएका भण्डारीको नाम अमर राख्नका लागि आफ्नो अनुरोधमा भण्डारीको परिवारले पुरस्कारको स्थापना गरेको वताए । अर्का प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदीले पत्रकारितामा चुनौति कायम रहेको वताउदै सरकारले सरकारी विज्ञापन निजी सञ्चार माद्यमलाई नदिने निर्णय गरेर अघोषित रुपमा आर्थिक नाकावन्दी लगाएकोले यो निर्णय फिर्ता लिन आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले सञ्चार क्षेत्रमा चुनौती थपिएको वताउदै सरकारी विज्ञापनहरु सरकारी सञ्चार माद्यमहरुलाई मात्रै दिने सरकारको पछिल्लो निर्णयले धेरै सञ्चार माद्यमहरु धरासायी भएको र कतिपय सञ्चार माद्यमहरु वन्द हुने अवस्थामा रहेको वताए । गजेन्द्र भण्डारी सिर्जनसिल राष्ट्रिय पत्रकारिता पुरस्कारका स्थापना कर्ता सरस्वती भण्डारीले आफुले पत्रकार महासंघ र माधव शर्माको अनुरोधमा २०५३ सालमा रु १ लाख रुपयाँको अक्षयकोष स्थापना गरेर पुरस्कारको स्थापना गरेको वताउदै त्यतिवेला त्यो रकम सानो नभएको वताईन् । ४ लाखको अक्षयकोषमा रु १ लाख थप गरेर ५ लाखको अक्षयकोष वनाउने भण्डारीले सो अवसरमा घोषणा गरिन् । सो अवसरमा प्रतिभा चयन समितिका संयोजक नारायण कार्कीले पुरस्कार छनौटको प्रक्रिया लगायतको वारेमा प्रकाश पारेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भूपाल गुरुङ र धन्यवाद ज्ञापन उपाध्यक्ष माधव रेग्मीले गरेका थिए ।
पहिलो सत्र समापन भएपछि दोस्रो सत्रमा भएको साधारण सभामा अध्यक्ष माधव प्रसाद वराल, सचिव भूपाल गुरुङ, र कोषाध्यक्ष राजाराम पौडेलले पेस गरेका छुट्टा छुट्टै प्रतिवेदनहरु उपर छलफल गरि पारित गरिएको थियो । साधारण सभाले पत्रकारहरुको पेशागत सुरक्षा, श्रमजिवी पत्रकार ऐनको कार्यन्वयन, पत्रकारहरुको न्यूनतम पारिश्रमिक, नेपाल पत्रकार महासंघको संस्थागत विकास तथा साना लगानीका स्वरोजगार मिडियाहरुको संकट समाधान, सरकारी विज्ञापन निजी सञ्चार माद्यमहरुलाई नलिने निति फिर्ता लिन माग गर्ने लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको छ ।


