पोखरा फागुन ९,
नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा फेष्टिवल हुने जानकारी दिएको छ । फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन रहेको छ ।
सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको वताईएको छ । फेष्टिवलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने पत्रकार सम्मेलनमा वताईयो । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो । यसपटक भारतको इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)का प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत रहेका प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत प्रवचनसँगै फेस्टिभल सुरू हुने कार्यकारी निर्देशक भारीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै फेस्टिभलका निर्देशक अजित बरालले सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभलको आयोजनापछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको र यो निकै खुसीको कुरा भएको बताए । ‘सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकडभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै आएको वरालले वताए ।
एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चारको क्षेत्रबाट मात्र नभई कला र साहित्यबाट पनि आफूहरू समाजसँग जोडिएको बताइन् । कला–संस्कृति र साहित्य समाजको धरोहर भएको र एनसेल फाउन्डेसनमार्फत फेस्टिभलसँग १० वर्षपछि फेरि आबद्ध हुन पाएकोमा उनले खुसी व्यक्त गरिन् । एनसेल फाउन्डेसनले सञ्चार, प्रविधि, शिक्षा, स्वास्थ्य, वातावरण, कला, संस्कृतिलगायत क्षेत्रमा २ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको उनले जानकारी दिइन् ।

फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्वबारे चर्चा गरे । साहित्यले समाजमा पु¥याएका योगदानहरूका उदाहरण दिँदै साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको लामिछानेले वताए । साहित्यले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम गर्ने पनि लामिछानेले वताए ।
फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पु¥याएको विश्वास व्यक्त गरे । फेस्टिभलको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने सो अवसरमा जानकारी गराईयो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।