पोखरा, ७ असोज ।
लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुवईले बुधबारदेखि पोखरा–दुबई–पोखरा रुटमा नियमित दैनिक उडान सुरु गर्दैछ । यो नियमित उडान संगै पोखरा प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोडिएको छ । २०७९ पौष १७ गते अर्थात सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा गरिरहेको थियो । नियमित उडानका लागि निक्कै धेरै प्रयासहरु पनि भए तर केही चार्टर तथा सीमित व्यावसायिक उडान भए पनि विदेशी वायुसेवा कम्पनीबाट नियमित अन्तर्राष्ट्रिय सेवा सुरु हुन सकेको थिएन । फ्लाई दुबईले पोखरावाट दैनिक उडान गर्ने भएपछि पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट अन्तराष्ट्रिय उडान भर्ने लामो समय पछिको प्रयासले सार्थकता पाएको छ भने पोखरावाटै अन्तराष्ट्रिय उडान गर्ने पोख्रेलीको सपना पुरा भएको छ ।
आज दुबईबाट आउने फ्लाई दुबईको विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र साँझ ७ः१५ बजे दुबई फर्कने तालिका रहेको छ । पोखरा विमानस्थलमा औपचारिक कार्यक्रम गर्ने भनिएको भएपनि संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य महामहिम शेख अहमद बिन राशिद अल मक्तुमको दुःखद निधन भएकाले दुवाईमा घोषणा गरिएको १० दिने शोक अबधिलाई सम्मान गर्दै आज साँझ पोखरामा आयोजना गरिएको औपचारिक स्वागत समारोह रद्द गरिएको पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले जनाएका छन् । उक्त जहाजलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पानीको फोहोराले स्वागत गरिने वताईएको छ ।
पोखरावाट भएको अन्तराष्ट्रिय उडानको प्रत्यक्ष लाभ पोखरा र गण्डकी प्रदेशवासीले पाउनेछन् । यसअघि अन्तर्राष्ट्रिय यात्राका लागि पोखराबाट काठमाडौं जानुपर्ने बाध्यता थियो । अब दुबई जाने यात्रुले पोखराबाटै अन्तर्राष्ट्रिय उडान गर्न सक्नेछन् । र दुवईलाई ट्रन्जिट मानेर विश्वका जुनसुकै ठाँउमा जाने र उतावाट वाट पनि सिधै पोखरा अवतरण गर्ने सुविधा यात्रुहरुले पाउनेछन् । यस हिसावले पोखरा विश्वसंग प्रत्यक्ष रुपमा जोडिएको छ । दुबई आफैं पनि विश्वको महत्वपूर्ण हवाई ट्रान्जिट केन्द्र भएकाले पोखरा–दुबई उडानको महत्व केवल यूएईसम्म सीमित रहने छैन । फ्लाई दुबईको सञ्जाल र दुबई हुँदै हुने कनेक्टिङ उडानमार्फत युरोप, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलियालगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाने सकिने छ ।
पोेखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा पर्यटनको राजधानी पनि हो अन्तर्राष्ट्रिय पर्यटकलाई पोखरा आउन काठमाडौं हुँदै स्थल वा आन्तरिक हवाई यात्राको अतिरिक्त चरण पार गर्नुपर्ने अवस्था थियो । अब कम्तीमा दुबईबाट पोखरासम्म सीधा हवाई पहुँच बनेपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि पोखरा प्रवेशको सिधा बाटो खुलेको छ । यसको प्रभाव होटल, रेस्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ, यातायात, गाइड, पर्वतारोहण, साहसिक पर्यटन लगायत अन्य धेरै व्यवसायमा पर्ने र यसले रोजगारीमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ । यो उडान संगै यस क्षेत्रको आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । पोखराबाट अन्तर्राष्ट्रिय यात्रु आउन–जान थालेपछि होटल तथा पर्यटन क्षेत्रमा लगानी बढ्ने , पर्यटकको बसाइ लम्ब्याउने नयाँ प्याकेज, ट्रेकिङ र साहसिक पर्यटनका कार्यक्रम तथा पोखरालाई आधार बनाएर मुस्ताङ, मनाङ, अन्नपूर्ण क्षेत्र, धौलागिरि क्षेत्रलगायत गन्तव्यमा पर्यटक लैजाने अवसर विस्तार हुने पर्यटन व्यवसायीहरुले वताएका छन् । यो उडान संगै पोखराका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पोखरा वाट नियमित रुपमा उडान गर्ने वातावरणका लागि पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले विभिन्न क्षेत्रमा लविङ गर्दै आएका थिए । प्रमुख आचार्यको निरन्तरको प्रयास र पर्यटन मन्त्री खड्गराज पौडेलको सहयोगको कारण पोखरावाट अन्तराष्ट्रिय उडान संभव भएको छ । फ्लाई दुबईको उडान सुरु हुनु पोखराका लागि महत्वपूर्ण उपलब्धि भए पनि यसको दीर्घकालीन सफलताका लागि पोखरा मात्रै नभई गण्डकी प्रदेशका विभिन्न क्षेत्रको सहयोग आवश्यक देखिन्छ । यसका लागि अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रचार गर्ने र विमान कम्पनीलाई आवश्यक बजार सुनिश्चित गर्ने विषयमा जोड दिने, लगायतका कामहरु गर्नुपर्ने देखिन्छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।