पोखरा असोज २८,
मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, ध्वनि प्रदूषण गर्ने तथा सडकमा उच्छृङ्खल गतिविधि गर्ने मोटरसाइकल चालकविरुद्ध कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत एक वर्षमा ८९८ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेको कास्की प्रहरीले जनाएको छ । २०८२ असोज २७ गतेदेखि सुरु गरिएको अभियान ३६५ दिन पूरा हुँदा ३६ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बिरेन्द्र कुमार पासवानद्धारा जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ ।

मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, आगोको झिल्का निकाल्ने, होहल्ला मच्चाउने, सडकमा मोटरसाइकल उडाउने तथा शान्ति सुव्यवस्थामा खलल पुग्ने गतिविधि बढेको भन्दै प्राप्त जनगुनासोका आधारमा प्रहरीले अभियान सुरु गरेको थियो । प्रहरीका अनुसार अभियानका क्रममा नियन्त्रणमा लिइएका ३६ जनामध्ये २९ जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी कारबाही गरिएको अन्यलाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ । त्यसैगरी, कारबाहीमा परेका ८९८ मोटरसाइकलमध्ये ३६७ वटा पटक–पटक कारबाहीमा परेको पाइएपछि यातायात व्यवस्था कार्यालयमार्फत थप कारबाही गरिएको प्रहरीले जनाएको छ । अन्य मोटरसाइकललाई ट्राफिक जरिवाना गरी छाडिएको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकललाई प्रहरीको रोहवरमा मेकानिक बोलाएर पुरानै स्वरूपमा फर्काएपछि र आगामी दिनमा त्यस्ता गतिविधि नगर्ने सर्तमा छाडिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दा बालबालिका, ज्येष्ठ नागरिक, असहाय तथा बिरामीलाई मानसिक र शारीरिक असर पर्ने प्रहरीको भनाइ छ । विशेषगरी अस्पतालमा उपचाररत बिरामी तथा शान्त वातावरण आवश्यक पर्ने स्थानमा यस्ता गतिविधिले समस्या सिर्जना गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सवारीधनीलाई मोटरसाइकलको वास्तविक स्वरूप परिवर्तन नगरी सञ्चालन गर्न आग्रह गरेको छ । साथै, मोटरसाइकल मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउसका सञ्चालकलाई पनि गैरकानुनी गतिविधि नगर्न र नगराउन प्रहरीले अनुरोध गरेको छ । अभियान प्रभावकारी भएको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव नागरिकस्तरबाट प्राप्त भएको भन्दै कास्की प्रहरीले ‘अपरेशन ३६५’ लाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ । प्रहरीले सञ्चालन गरेको यो अभियान प्रभावकारी रहेको र यसको निरन्तरता गर्ने कार्यले स्वपरुप परिवर्तन गरेर मोटारसाईकल चलाउने तथा ध्वनी प्रदुषण कम हुने अपेक्षा गरिएको छ । यसका साथसाथै धना वस्ती भएको ठाँउमा मोटरसार्यकल ग्यारेज, कार वास सेन्टर, कवाडी संकलन केन्द्र राख्न नपार्ईने नियम भएको भएपनि यस्ता वर्कशप , ग्यारेजहरु र केन्द्रहरु सञ्चालनमा रहिरहेकाले ध्वनी प्रदुषण, डेङ्गीको संक्रमण का साथै अन्य प्रकारका रोगहरुको संक्रमण वढ्ने भन्दै स्थानियले यस तर्फ पनि प्रहरीले निगरानी वढाउनुपर्ने माग गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।