पोखरा साउन १३,
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती प्रतिक्षा नियुक्त भएकी छन् । पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (संशोधनसहित) अनुसार कुलपति सहित उप कुलपति, सदस्य सचिव, ४ जना परिषद सदस्य र १० जना सभा सदस्य चयन गरेको छ । बुधवार एक कार्यक्रमका अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतिष्ठानका नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा ,उपकुलपति तिलक पुर्जा पुन मगर र सदस्य–सचिव जीवन दाहाल सहित प्राज्ञ परिषद सदस्य र प्राज्ञ सभा सदस्यलाई लाई नियुक्ति पत्र प्रदान गरे । कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ (भाषा तथा साहित्य), उपकुलपति तिलक पुर्जा पुन मगर (कला तथा साहित्य) र सदस्य–सचिव जीवन दाहाल (लोकगीत तथा सङ्गीत) रहेका छन् ।
प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ (नृत्य), हरेराम जोजेजु (फाइन आर्ट ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमीला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) रहेका छन् । यस्तै प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल (साहित्य), कृष्णप्रसाद गौतम (संस्कृति), गमबहादुर परियार (नृत्य निर्देशन तथा कलाकार), ज्योति गुरुङ (फाइन आर्टल ललितकला), नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान), प्रेमराज अधिकारी (लोकगीत तथा सङ्गीत, गीतकार), भास्करध्वज श्रेष्ठ (सङ्गीत तथा ब्याण्ड), रवीन्द्र माकाजु (साहित्य तथा इतिहास), रिता पाहारी (साहित्य तथा कला), शिवहरि ढुङ्गाना (लोक तथा दोहोरी गीत–सङ्गीत) रहेका छन् ।
सो अवसरमा प्रमुख आचार्यले प्रतिष्ठानका गतिविधिहरू मार्फत पोखरा महानगरपालिका क्षेत्रको साहित्य, कला, संस्कृति, भाषा लगायत समग्र प्राज्ञिक क्षेत्रको उन्नयन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानका गतिविधिहरूलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले संस्थागत रूपमा पोखरा घरमा व्यवस्थित कार्यालय र कार्य सञ्चालनका लागि कानुनी रूपमा पर्याप्त व्यवस्था र बजेटको समेत प्रबन्ध गरिएको प्रमुख आचार्यले वताए । प्रमुख आचार्यले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण कुनै पनि जीवित समुदायको सभ्यता, पहिचान र अस्तित्वसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण विषय भएको समेत वताए ।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनप्रति पोखरा महानगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको वताउदै आचार्यले सृजनशील क्षेत्रको विकासमार्फत पोखराको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महानगरले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने आचार्यले वताए । प्रमुख आचार्यले प्रज्ञा प्रतिष्ठानले स्थानीय स्रष्टा, अनुसन्धानकर्ता, कलाकार तथा संस्कृतिकर्मीलाई एकीकृत गर्दै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, अनुसन्धान र प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
सो अवसरमा उपप्रमुख मन्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगर क्षेत्रको साहित्य, कला, भाषा, सृजना र संस्कृतिको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै महानगरपालिकाले यसका गतिविधिहरूलाई चलायमान बनाउनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्ने वताईन् ।
नवनियुक्त कुलपति सरस्वती प्रतीक्षाले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने प्रतिबद्धता जाहेर गर्दै पोखरेली प्राज्ञिक क्षेत्रको विकास र श्रीवृद्धिमा आफूहरू समर्पित भएर लाग्ने र पोखरा प्रज्ञा प्रतिष्ठानलाई नमुना प्रतिष्ठानका रूपमा स्थापित गर्ने विश्वास दिलाईन् । यस अघि प्रतिष्ठानको कुलपतिमा पद्यराज ढकाल रहेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।