पोखरा चैत १४,
पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सो का लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेश बिच सम्झौता समेत भइसकेको छ । पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर परिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावली बमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको वताईएको छ । पोखरा महानगरपालिका गरिब घर धुरी पहिचान तथा परिचय पत्र विवरण मार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूची बमोजिम २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिने छ ।
स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार ५ जनासम्म सदस्य भएको प्रति परिवार रु.३५००।– र ५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्य रु.७००।– बिमा बापतको रकम पोखरा महानगरपालिकाले बिमा बोर्डलाई उपलब्ध गराउनेछ । महानगरपालिकाको निःशुल्क बिमा कार्यक्रममा सहभागी तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घर परिवार पहिचानको सिफारिस र दर्ता सहयोगी मार्फत भरिएको दर्ता फारम समेत संलग्न गरी महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ । यसरी पेस हुन आएका विवरण सहितका फारमहरू आवश्यक प्रक्रिया पुरा गरी स्वास्थ्य बिमा बोर्डमा बुझाइसकेपछि स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिनेछ ।

पोखरा महानगरपालिका क्षेत्रमा रहेका गरिबिको रेखामुनिको लक्षित वर्गको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो कार्यले आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेको वर्गलाई निकै ठुलो राहत मिल्ने वताउदै महानगरपालिका सम्पूर्ण नगरवासीहरूको स्वास्थ्य सुरक्षा र प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको वताए । महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार अति तथा मध्यम गरिब परिवारलाई बिमा गर्ने कार्यका लागि दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिने र लक्षित वर्गलाई यस कार्यक्रम मार्फत लाभ लिन महानगरपालिकाले अनुरोध समेत गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।