पोखरा , जेष्ठ १०,
पोखरा महानगरपालिकाले फिर्के खोलाको संरक्षण तथा प्राकृतिक बहावलाई व्यवस्थित बनाउने उद्देश्यसहित खोला अतिक्रमण गरेर निर्माण गरिएका पक्की तथा कच्ची संरचना हटाउने अभियान आजबाट सुरु गरेको छ । महानगरको नेतृत्वमा सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा प्राविधिक टोलीको उपस्थितिमा खोलाको किनार तथा क्षेत्रभित्र बनाइएका विभिन्न संरचना भत्काउने कार्य अगाडि बढाइएको हो ।
फिर्के खोलाको प्राकृतिक बहाव क्षेत्रभित्र वर्षौंदेखि विभिन्न व्यक्तिहरूले घर, टहरा, सटर, पर्खाल तथा अन्य संरचना निर्माण गर्दै आएका थिए । यस्ता संरचनाका कारण खोलाको चौडाइ खुम्चिनुका साथै पानीको बहाव प्रभावित भएको र वर्षायाममा डुबान तथा बाढीको जोखिम बढ्ने गरेको छ । आज पोखरा महानगरपालिकको २ नं वडाको अँधेरीकुना क्षेत्रदेखि वडा ४ ,वडा ५–८ ः फिर्केपुल–बूढानीलकण्ठ मन्दिर , वडा ८ जोड्ने जिरोकिलोमिटर स्थित लायन्स भवन भत्काएर अभियानको सुरुवात गरिएको छ । फिर्के खोलाका कुल १६० संरचनामध्ये ९७ अस्थायी र ३५ स्थायी तथा बाँकी संस्थागत संरचना रहेका छन् । फिर्केखोला नापजाँच प्रतिवेदन अनुसार अतिक्रमण गरेर निर्माण गरिएका कुल १६० संरचनामध्ये व्यक्तिगत (निजी) संरचनाः १३२ वटा,९७ अस्थायी,३५ स्थायी र २८ वटा संघसंस्था÷संस्थागत संरचना रहेका छन् ।
यसै विच आज फिर्के खोला अतिक्रमण हटाउने अभियानको क्रममा पोखरा ८ स्थित लायन्स क्लवको भवन अगाडि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै पोखरा महानगरका मेयर धनराज आचार्यले यो अभियान केवल संरचना भत्काउने काम मात्र नभई दीर्घकालीन शहरी व्यवस्थापन र खोला संरक्षणसँग जोडिएको विषय भएको बताएका छन् । उनले फिर्के खोलाको प्राकृतिक बहाव जोगाउनु आवश्यक रहेको र वर्षायाममा बढ्दै गएको बाढी तथा डुबानको जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको वताए । साथै, “फिर्के करिडोर” योजना पोखराको भविष्यसँग जोडिएको दीर्घकालीन परियोजना भएकाले सार्वजनिक जग्गा फिर्ता पछी करिडोरको काम अगाडि वढ्ने उनले वताए ।
संरचना हटाउने कार्य सुरु हुनुअघि प्रभावित क्षेत्रका व्यक्तिहरूलाई ३५ दिने सूचना र त्यस पछि ३ दिन सूचना जारी गरिएको थियो । पटक–पटकको सूचना र सचेतनामूलक प्रयासपछि पनि संरचना नहटाइएकाले कानुनी प्रक्रिया अनुसार आजबाट डोजर प्रयोग गरेर हटाउने काम थालिएको पोखरा महानगरपालिकाले जनाएको छ ।
फिर्के खोलामा डोजर चलेपछि केही स्थानीयले आफ्नो बसोबास तथा व्यवसाय प्रभावित हुने भन्दै असन्तुष्टि जनाए पनि अधिकांशले सार्वजनिक सम्पत्ति संरक्षण तथा दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताएका छन् । फिर्के खोलाको अतिक्रमण हटाउने अभियानले प्राकृतिक स्रोत संरक्षण, बाढी जोखिम न्यूनीकरण तथा दीर्घकालीन शहरी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । यो संगै महानगरले पोखरा वसपार्क लगायत नगर क्षेत्र भित्रका अन्य अतिक्रमित क्षेत्रहरूको पनि अध्ययन गरी आवश्यक कदम चाल्ने संकेत दिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।