पोखरा चैत २१,
फेवाताल अतिक्रमण गरेर वनाईएका अस्थायी संरचनामा शनिवार विहानै देखि डोजर चलार्ईएको छ । गृह मन्त्रालयको निर्देशनमा कास्की प्रहरीले पोखरा महानगरपालिका र स्थानिय प्रशासनको समन्वयमा फेवाताल किनारमा डोजर चलाएको हो । ब्यवसायी कर्ण शाक्यको होटल वाटरफन्ट रिसोर्टको स्वीमङ पुल लगायत अस्थायी संरचनामा डोजर चलाईएको छ । उक्त होटलले फेवातालको मापदण्ड मिचेर संरचना निर्माण गरेको र धेरै मिडियाले समाचार लेखेको भएपनि हाल सम्म उक्त होटलमा डोजर चलार्ईएको थिएन । त्यसै गरि फेवातालको मापदण्ड मिचेर वनाईएका खपौदी क्षेत्रका अस्थायी घर तथा टहराहरुमा पनि डोजर चलाईएको छ । खपौदी क्षेत्रमा त फेवातालसंगै सटाएर संरचना वनाउने र त्यही होटल रेष्टुरेन्ट सञ्चालन गरिएका छन् ।
फेवाताल किनारमा वनेका ताल अतिक्रमित संरचनामा डोजर चलाउन खोज्दा स्थानियहरुले विरोध गरेका थिए । उनिहरुले आफ्नो गरी खाने ब्यवसाय खोसिएको र रोजी रोटी समाप्त भएको भन्दै विरोध गरेर केहीवेर सडक अवरुद्ध समेत पारेका थिए । पछि प्रहरीले माईकिङ गर्दै स्थितीलाई नियन्त्रणमा लिएर सडक खुलाएको थियो ।
यसअघिनै सर्वोच्च अदालतको फैसला बमोजिम पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकार सहितको सहयोगमा तालको सिमाङ्कन गर्ने, जग्गाको वर्गिकरण गर्ने लगायतका कामहरु सम्मन्न गरिसकेको छ । सरकारको १०० वुँदे प्रशासनीक सुधारको योजनामा पोखरास्थित फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाई पुनस्र्थापना, पहिरो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलनका कार्यहरू सरोकारवालाहरूको सहभागितामा तीन महिना भित्र प्रक्रिया अघि बढाई जलाधार क्षेत्रको प्रभावकारी रूपमा संरक्षण गर्नेभन्ने उल्लेख भएको र प्रधानमन्त्री बालेन्द्र शाहले पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यलाई फोन गरेर मापदण्ड विपरितका संरचना हटाउने कार्य कहाँ पुगेको छ भनेर चासो राखेका थिए ।
