पोखरा असार ३,
पोखरा महानगरपालिका–१७, बिरौटास्थित बालोदय सेकेण्डरी स्कुलमा लागूऔषध दुव्र्यसन तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र, बैदामका प्रहरी निरीक्षक मुकुन्द रिजालको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का ३३० भन्दा बढी विद्यार्थीहरू र शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने गम्भीर असर, यसको दीर्घकालीन दुष्परिणाम तथा यसबाट बच्ने उपायहरूबारे विस्तृत रूपमा जानकारी गराइएको थियो । साथै, साइबर अपराधका विभिन्न स्वरूपहरू जस्तै सामाजिक सञ्जाल दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ, फेक आईडी तथा व्यक्तिगत गोपनीयता उल्लङ्घन जस्ता विषयमा समेत सचेत गराउँदै सुरक्षित डिजिटल प्रयोगको महत्वमा विशेष जोड दिइएको थियो । विद्यार्थीहरूलाई सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, अनलाइन जोखिम पहिचान गर्ने तरिका तथा डिजिटल माध्यमबाट सुरक्षित रहने उपायहरूबारे व्यवहारिक जानकारी प्रदान गरिएको बिद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूले सक्रिय रूपमा सहभागिता जनाउँदै आफ्ना जिज्ञासा समेत राखेका थिए ।
कार्यक्रमको अन्त्यमा विद्यालयका प्राचार्य टेकनाथ पौडेलले सहजकर्ता प्रहरी निरीक्षक मुकुन्द रिजाल तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बैदामलाई धन्यवाद ज्ञापन गर्नुका साथै यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई गलत बाटोबाट टाढा रहन, सुरक्षित जीवनशैली अपनाउन तथा अनुशासित, सचेत र जिम्मेवार नागरिक बन्न महत्वपूर्ण प्रेरणा दिने विश्वास व्यक्त गरे ।
