पोखरा वैशाख २५,
पोखराका उद्योगपति, समाजसेवी, पोखरा रत्नले सम्मानित पूर्व मन्त्री हरि पाण्डेले मानवसेवा आश्रम, हेमजामा सञ्चालन भइरहेको “श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ” मा ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गरेका छन् । आफ्नो वैवाहिक जीवनको ५९ औँ वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै पोखरा–८, कास्की निवासी ं हरि पाण्डे तथा श्रीमती तुलसा पाण्डेले विहिवार उक्त रासीको सहयोग गरेका हुन् ।
मानवसेवा आश्रम, पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको उद्देश्यसहित सञ्चालन भइरहेको महायज्ञमा पाण्डे दम्पतीले आजीवन वार्षीक भोजनसेवा ग्रहण गर्दै १८ दिनको वार्षिक भोजन सेवा सदस्यता ग्रहण गर्दै रु. १८ लाख ८८ हजार ८ सय ८६ र मुक्तिनाथ सेवा धर्मशाला निर्माण अन्तर्गत ५ कोठा निर्माणका लागि ३५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ गरि ५५ लाख ४४ हजार ४ सय ४२ रुपयाँ सहयोग गरेको यज्ञ मूल आयोजक समितिले जनाएको छ ।
वैवाहिक वर्षगाँठजस्तो विशेष अवसरलाई व्यक्तिगत उत्सवमा सीमित नराखी मानवताको सेवामा समर्पित गर्दै गरिएको उक्त सहयोगलाई महायज्ञकै प्रेरणादायी योगदानका रूपमा हेरिएको आश्रमले जनाएको छ । पाण्डे दम्पतीको उदार सहयोगले आश्रमको सेवा विस्तार, पूर्वाधार विकास तथा दिगो मानवीय सेवामा महत्त्वपूर्ण टेवा पुगेको आयोजक समितिले जनाएको छ । यसअघि पनि मिति २०७९ साल माघ २० गतेदेखि २७ गतेसम्म सम्पन्न श्रीमद् भागवत ज्ञान–विज्ञान महायज्ञमार्फत भवन निर्माण सम्पन्नताका लागि ५ कोठा निर्माणार्थ पाण्डे दम्पत्तीले ३० लाख ६६ हजार ६ सय ६६ सहयोग प्रदान गरेको मुल आयोजक समितिले जनाएको छ ।
त्यसै गरि मानवसेवा आश्रम भवन निर्माणका लागि बिहिवारनै पोखरा महानगरपालिका वडा नं २ कार्यालयले ५ लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ ।
महायज्ञमा पोखरा–२५, बडहरे निवासी तोरणबहादुर थापाले १ लाख ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । त्यसै गरि महायज्ञमा पोखरा–०६, बैदाम निवासी नर्मदादेवी आचार्यले १ लाख ११ हजार ५ रुपैयाँ दान प्रदान गरेकी छन् । महायज्ञमा पोखरा २५ हेमजा निवासी नवराज थापा तथा सरस्वती थापिाले नगद १५ हजार ५०० र ३ लाख १८ हजार ५ सय ९५ रुपयाँ वरावरको जिन्सी सामान सहयोग गरेको आयोजक समितिले जनाएको छ । महायज्ञमा अन्य धेरै मनकारी दाताहरुले ठूलो सानो रकम सहयोग गरिरहेका छन् । यही बैशाख १९ गतेवाट सुरु भएको सप्ताहव्यापी महायज्ञ यही बैशाख २६ गते शनिवार समापन हुँदैछ ।


