पोखरा जेष्ठ १९,
यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) कास्कीमा विगतमा स्मार्ट लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स तथा वर्ग थपका लागि प्रक्रिया पूरा गरी राजस्व बुझाएका सेवाग्राहीहरूले अहिले स्मार्ट लाइसेन्स प्राप्त गर्न थालेका छन् । कार्यालयमा लामो समयदेखि प्रतीक्षामा रहेका हजारौं सेवाग्राहीका लाइसेन्स छपाइ भएर आएपछि वितरण कार्यलाई तीव्र बनाइएको हो ।
निमित्त कार्यालय प्रमुख सिर्जना सुवेदीका अनुसार २०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ सम्म राजस्व बुझाएका सेवाग्राहीमध्ये करिब २ लाख स्मार्ट लाइसेन्स कार्यालयमा प्राप्त भइसकेका छन् । सेवाग्राहीलाई आफ्नो लाइसेन्स आएको–नआएको अनलाइन प्रणालीमार्फत जाँच गरेर मात्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । त्यसका लागि कार्यालयले क्यूआर कोड समेत सार्वजनिक गरेको छ । यातायात व्यवस्था कार्यालय कास्कीले सेवाग्राहीलाई आफ्नो रसिद सहित कार्यालयमा उपस्थित भई आफ्नो स्मार्ट लाइसेन्स बुझ्न आग्रह गरेको छ ।
पोखरा कार्यालयमा एउटा कोठावाट मात्रै लाईसेन्स वितरण गरिएको छ । सवै प्रक्रिया पुरा गरेर लाईसेन्स दिदा एक जना सेवाग्राहीलाई ३ देखि ४ मिनेट लाग्ने कार्यालय प्रमुख सुवेदीको भनाई छ । यो नियमित कार्य भन्दा थप काम भएको, कार्यालयमा जनशक्तिको अभावमा एउटा कोठावाट मात्रै लाईसेन्स वाँडिएको र एक दिनमा एक हजार देखि ११ सय सम्म लाईसेन्स वितरण भईरहेको सुवेदीको भनाई छ । आफ्नो लाईसेन्स आएको अनलाई चेक गरेपछि यातायात ब्यवस्था कार्यालय अनुमती पत्र पोखरामा लाईसेन्स लिन जानेहरुको अत्याधिक भिड वढेको छ । कार्यालयको वाहिरी गेट देखि लाईसेन्स वितरण गरिने कोठा सम्म सेवा ग्राहीको लामो लाईन देख्न सकिन्छ । केही सेवाग्राहीले आफुहरु विहान ५ वजे देखि लाईनमा वस्न आएको वताए । एउटा कोठावाट मात्रै लाईसेन्स वितरण हुँदा यो गर्मिको चर्को घाममा लामो समय सम्म लाईनमा वस्दा सेवाग्राहीले सास्ती पाएका छन् ।
