पोखरा, असार ६,
पोखरा महानगरपालिका–८ मा रहेको लिटिल स्टेप सेकेण्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरेको छ । कार्यक्रमको उद्धघाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.डा.गणेश गुरुङले गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै डा.गुरुङले विद्यार्थीहरूलाई अध्ययनसँगै नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको दायित्वबोधको भावना विकास गर्न आग्रह गरे । वर्तमान प्रतिस्पर्धाको समयमा ज्ञान, सीप र सकारात्मक सोच नै सफलताको आधार भएको उल्लेख गरे । कार्यक्रममा पूर्व राजदूत महेश दाहालले की–नोट स्पिकरका रूपमा विद्यार्थीहरूलाई उच्च शिक्षाको महत्व, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा भविष्यको करिअर योजनाबारे प्रेरणादायी मन्तव्य दिएका थिए । दाहालले विद्यार्थी जीवनलाई लक्ष्य निर्धारण गर्ने महत्वपूर्ण समयका रूपमा व्याख्या गर्दै विश्व परिवेशमा आवश्यक सीप, प्रविधिको प्रयोग र नेतृत्व क्षमताको विकासमा ध्यान दिन सुझाव दिए । उनले युवाहरूलाई आत्मविश्वासका साथ आफ्नो क्षमता पहिचान गरी अघि बढ्न प्रेरित गरे । कार्यक्रमको सुरुमा विद्यालयका प्राचार्य डा. कैलाश तिमिल्सिनाले नवआगन्तुक विद्यार्थीहरूलाई स्वाग गदैै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको बताए । डा. तिमिल्सिनाले विद्यार्थीहरुसंग प्रयाप्त समय रहेको वताउदै समयलाई सही रुपमा सदुपयोग गर्न सकेको खण्डमा सफलता हात लाग्ने वताए । कार्यक्रममा विद्यालयका संरक्षक शेरवहादुर गुरुङ, विद्यालयका निर्देशक पदम वस्ताकोटी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले मनोरञ्जनात्मक गित तथा नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यालयका संस्थापक पम्फा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
