पोखरा बैशाख १०,
पोखरा महानगरपालिका वडा नं.३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले आज एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्माण भएको उक्त सडकको प्रमुख आचार्यले उद्धघाटन गरेका हुन् ।
सडकको उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दै प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको भन्दै आफुहरु निर्वाचित भएर आएपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएको वताए । पोखरामा हाल ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालन रहेको वताउदै आचार्यले शिशुवाचोकदेखि खुदिखोलासम्मको सडक निर्माण सम्पन्न गरेको विश्व बैङ्ककै सहयोगमा उक्त सडकको दोस्रो चरण समेत निर्माण कार्य अगाडी बढ्ने अपेक्षा व्यक्त गरे ।
तालचोक बेगनास सडक निर्माणमा भइरहेको ढिलाइ प्रति चिन्ता व्यक्त गर्दै आचार्यले आयोजना सञ्चालनका क्रममा देखा परेका विभिन्न बाधा तथा अवरोध लगायतका कारण निर्माण कार्य विलम्ब भइरहेको वताए । उक्त सडक निर्माणका लागि अन्तिम पटक म्याद थपिएकाले सो अवधि भित्र काम सम्पन्न गर्ने गरी समन्वय, सहयोग र सकारात्मक खबरदारी गरिदिन प्रमुख आचार्यले आग्रह समेत गरेका थिए ।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकास निर्माण तर्फको काम सह्रानीय रहेको वताए । पोखरा महानगरपालिकाको छिमेकी पालिका भएको नाताले रुपा गाउँपालिका दिगो विकासका अभियानहरूमा हातेमालो गर्न तयार रहेको ओझाले वताए । ऐतिहासिक मार्गका रूपमा स्थापित शिशुवा सिसाघाट अन्तर्गत शिशुवादेखि खुदीखोलासम्मको सडक नमुना सडकका रूपमा निर्माण भएको ओझाले वताएका थिए । सो अवसरमा पोखरा महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक एवं पोखरा २६का अध्यक्ष नरेन्द्र थापा, पोखरा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी , लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बाबुराम गिरी, वर्तमान अध्यक्ष जानुका पराजुली लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
आयोजनाका फोकल पर्सन इ.नवीन गौतमका अनुसार शिशुवादेखि खुदी खोला पुलसम्मको करिब ४.१४ किलोमिटर सडक निर्माण भएको हो । विश्व बैङ्कको ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँ आर्थिक सहयोगमा सडक निर्माण भएको हो । सडक नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्र्याक रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।