पोखरा साउन २९,
पोखराको कला, साहित्य, संगीत, संस्कृति तथा पर्यटनलाई एउटै थलोबाट संरक्षण, विकास र प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय भवन ‘पोखरा घर’ शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । पोखरा घरको आज विहान एक कार्यक्रमका विच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त भवनको उद्धघाटन गरे । भूमिगत पार्किङ, कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, बस टिकट काउन्टर, स्नान घर, शौचालय, घण्टाघर लगायतको सुविधा पोखरा घरमा रहेको छ । औपचारिक उद्धघाटन संगै घर सञ्चालनमा आएको हो ।
सो अवसरमा मन्तव्य ब्यक्त गर्दै प्रमुख आचार्यले पोखराको पहिचान, मौलिकता र सांस्कृतिक सम्पदालाई एउटै केन्द्रबाट उजागर गर्ने महानगरको प्रयासले मूर्त रूप पाएको बताए । आज एउटा ड्रिम प्रोजेक्टको रुपमा रहेको पोखरा घरको निर्माण पुरा भएको छ भन्दै प्रमुख आचार्यले प्रसन्नता ब्यक्त गरे । पोखराको कला, साहित्य, संस्कृति र पर्यटनलाई अलग–अलग रूपमा होइन, एकीकृत ढंगले अघि बढाउन ‘पोखरा घर’ महत्वपूर्ण आधार बन्ने प्रमुख आाचार्यले वताए ।
पर्यटकीय नगरी पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पोखराका प्रमुख पर्यटकीय स्थल, कला, संस्कृति, साहित्य, मौलिक उत्पादन तथा स्थानीय जीवनशैलीबारे जानकारी दिने एकीकृत केन्द्रका रूपमा ‘पोखरा घर’लाई विकास गरिएको प्रमुख आचार्यले वताए । सो अवसरमा उप प्रमुख मञ्जुदेवी गुरुङ ,सल्लाहकार परिषद्का अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिकाका नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानाङ्ग, एमाले दलका नेता राधिका कुमारी शाही योगी, वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
भवनमा कोशेली घर, पर्यटन सूचना केन्द्र, सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, बैठक तथा कार्यक्रम कक्ष, सार्वजनिक स्नानघर र शौचालय, बस टिकट काउण्टर लगायतका सुविधा रहेका छन् । भवन अपाङ्गतामैत्री बनाइएको छ भने आवतजावत सहज बनाउन लिफ्टको समेत व्यवस्था गरिएको छ । भवनको तल्लो भागमा पार्किङको व्यवस्था गरिएको छ । पहिलो तलामा कोशेली घर र सूचना केन्द्र रहनेछन् । पोखरामा उत्पादन हुने स्थानीय तथा मौलिक वस्तु, हस्तकला र पर्यटकीय सामग्रीलाई प्रवद्र्धन गर्न कोशेली घर उपयोगी हुने अपेक्षा गरिएको छ । त्यस्तै, सूचना केन्द्रले पोखरा आउने पर्यटकलाई यहाँका पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा, कार्यक्रम, स्थानीय सेवा तथा अन्य आवश्यक जानकारी उपलब्ध गराउनेछ ।
भवनको दोस्रो तलामा सार्वजनिक पुस्तकालय र बैठक कक्ष रहने व्यवस्था गरिएको छ । यसअघि महेन्द्रपुलबाट सञ्चालन हुँदै आएको पोखरा सार्वजनिक पुस्तकालय अव नयाँ भवनबाट सञ्चालन हुने भएको छ । त्यस्तै, तेस्रो तलामा आर्ट ग्यालरी रहेको छ । यसले पोखराका चित्रकार, मूर्तिकार, कलाकार तथा सिर्जनशील व्यक्तिका लागि आफ्ना सिर्जना प्रदर्शन गर्ने स्थायी थलो उपलब्ध गराउने अपेक्षा गरिएको छ । कला प्रदर्शनी, साहित्यिक कार्यक्रम, पुस्तक विमोचन, छलफल तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि समेत भवन उपयोग गर्न सकिनेछ । पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय समेत सोही भवनमा रहने छ ।
पोखरा आफैंमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भए पनि यहाँ आउने पर्यटकलाई पोखराको समग्र परिचय एकै स्थानमा उपलब्ध गराउने व्यवस्थित केन्द्रको अभाव रहँदै आएको थियो। ‘पोखरा घर’ले यही अभाव पूर्ति गर्ने महानगरको विश्वास गरिएको छ । पोखराका फेवाताल, विश्वशान्ति स्तूप, डेभिस फल, गुप्तेश्वर गुफा, सराङकोट, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पुरानो बजार, विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफालगायतका पर्यटकीय तथा धार्मिक–सांस्कृतिक स्थलका बारेमा जानकारी लिन चाहने पर्यटकका लागि सूचना केन्द्र उपयोगी बन्ने विश्वास गरिएको छ ।
भवनको माथिल्लो भागमा रहेकोे घण्टाघर यसको अर्को आकर्षण हो । घण्टाघरले छुट्टै पहिचान दिने र पर्यटकीय आकर्षण थपेको छ । विशेषगरी सार्वजनिक स्नानघर र शौचालयको व्यवस्थाले पोखरा आउने र पोखरावाट वाहिर जाने यात्रुहरुको साथै स्थानियहरुलाई समेत सुविधा हुने भएको छ । एकैपटक करिब २५ जनाले प्रयोग गर्न सक्ने सार्वजनिक स्नानघर तथा शौचालय भएपछि पोखरामा आउने यात्रुहरुलाई सहज हुने छ । महानगरले यसको सञ्चालनलाई प्रभावकारी बनाउन सकेमा ‘पोखरा घर’ पोखरा आउने पर्यटकले एकपटक अवश्य पुग्नुपर्ने नयाँ गन्तव्यका रूपमा स्थापित हुन सक्ने महानगरवासीको भनाई रहेको छ । पोखराको प्राकृतिक सुन्दरता हेर्न आउने पर्यटकलाई अब पोखराको कला, साहित्य, संगीत, संस्कृति, इतिहास र स्थानीय जीवनशैलीसँग पनि जोड्ने पुलका रूपमा ‘पोखरा घर’ले काम गर्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।