पोखरा वैशाख १२,
पोखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरतपोखरी, निर्मलपोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउने पानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा २१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजना अन्तरगत वृहद भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा २१ र जलवायु अनुकूलित आयोजना अन्तरगत काँहुधरहरा खानेपानी आयोजना पोखरा ११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नगर प्रमुख धनराज आचार्य र खानेपानी विभागका सिनियर डीभिजनल इन्जिनियर कुल प्रसाद पौडेल लगायतको रोहबरमा गरिएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका का.मु आयोजना प्रमुख पदम बहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र खानेपानी उपभोक्ता समितिका तिनै जना अध्यक्षहरूले हस्ताक्षर गरेका छन् ।
बृहत भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपैयाँ कुल लागत मध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट रु.२८ करोड ४९ लाख ९१ हजार ८२८ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा रहेको छ । यस्तै काँहुधरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख १७ हजार ६०३ रुपैयाँ मध्ये २१ करोड ६ लाख २४ हजार १४० रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको कुल २८ करोड ५४ लाख ६५ हजार १७३ रुपैयाँ मध्ये १९ करोड ७६ लाख ४१ ८७६ रुपैयाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । पोखरा महानगरपालिकाले जनाएको छ । समझदारी अनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आ.वमा पोखरा महानगरपालिकाले त्यसको १० प्रतिशत रकम बेहोर्ने छ । तीन वटै परियोजनाको कुल लागत १ अरब २९ करोड ४९ लाख ५८ हजार ९७८ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । परियोजनाको कुल लागतको ९० प्रतिशत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्ने छ ।
बृहत भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना अन्तरगत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी सङ्कलन तथा प्रशोधन गरी १७ कि.मी सिमलेस सहित ३५ कि.मी पाइपमार्फत उपोक्ताहरुको घरघरमा पानी पुर्याईने वताईएको छ । यस आयोजनाबाट करिब २४ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले वताए । यस आयोजनामा २००, १००, ७५, ५० र २० घन मिटरका ११ वटा पानी ट्याङ्कीहरू निर्माण हुनेछन् । यस्तै काँहु धरहरा खानेपानी आयोजना अन्तरगत काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ कि.मी पाइपलाइन मार्फत उपभोक्ताको घरघरमा पानी पुर्याईने छ । करिब १५ सय घरधुरी लाभान्वित हुने यो आयोजना अन्तरगत ३ सय घनमिटर एक र १ सय घनमिटरका २ वटा ट्याङ्कीहरू निर्माण गरिनेछ । मट्टीखान खानेपानी योजना अन्तरगत सेतिखोलाबाट शम्पवेल मार्फत पानी पम्पिङ् गरी फेदिखोला गाउँपालिकाको नुवाकोटमा पानी सङ्कलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ । ३५ कि.मी पानीको पाइपलाइन विस्तार हुनेछ । विभिन्न स्थानमा १५० र ३५ घनमिटर क्षमताका ८ वटा पानी ट्याङ्कीहरू मार्फत आयोजनाले १२ सय घरधुरीलाई पानी वितरण गर्नेछ ।
चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्ने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०८१ फाल्गुन ८ गते सार्वजनिक टेन्डर समेत आह्वान गरिसकेको छ । आयोजनाको पोखरा कार्यालय प्रमुख कार्यान्वयन इकाई रहेको यी आयोजना सम्पन्न भएपछि ५ हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । आयोजना कार्यान्वयन भएको मितिले ३० महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यी आयोजनाहरू एक घर एक धाराको अवधारणामा सञ्चालन हुनेछन् ।
सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूलाई आधारभूत खानेपानीको उपलब्धताका लागि आफूहरू क्रियाशील रहेको वताए । नगर क्षेत्रमा संघ, प्रदेश र महानगर स्तरीय विभिन्न आयोजनाहरू सञ्चालन गरी उपभोक्ताहरूलाई स्वच्छ र सफा पिउने पानीको व्यवस्था गर्न आफूहरू निरन्तर लागिरहेको प्रमुख आचार्यले वताए । ठुला लगानीका आयोजनामा जनसहभागिता जुटाउन निकै कठिन रहेको र नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि पनि यसको दायित्व महानगरपालिकाले लिनु पर्दछ भन्ने मान्यताका साथ महानगरपालिकाले प्रतिबद्धता सहित अग्रसरता लिएको आचार्यले वताए । प्रमुख आचार्यका अनुसार जी टु जी अवधारणामा उपभोक्ताहरूको तर्फबाट बेहोर्नु पर्ने १० प्रतिशत जनसहभागिता बापतको रकम महानगरपालिकाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको खातामा पठाइदिने छ । पानीको महसुल बुझाउन समेत मुस्किल पर्ने उपभोक्ताहरूलाई जनसहभागिता बापतको रकम महानगरपालिकाले तिरिदिने भएपछि उपभोक्ताहरूमा उत्साह थपिएको समितिका अध्यक्षहरूले बताएका छन् ।
