पोखरा चैत १९,
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले आज बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा सुरु भएको जनाएको छ । यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई परीक्षा दिदैछन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी छन् ।यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी भएका छन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । यस वर्ष एसई दिनेमा छात्र भन्दा छात्राको संख्या दूई हजार ८ सय १२ ले वढि रहेको छ ।
परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारी खटाइएको छ ।
यता गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको सामाजिक विकास, युवातथा खेलकुदमन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखाका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका गरि सो संख्याका विद्यार्थीहरू परीक्षामा सहभागी भएका हुन् ।
जिल्लागत विवरण अनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी भए । त्यसपछि तनहुँमा ६ हजार १सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २ सय ८८ र बागलुङका ४ हजार २ सय ३९ विद्यार्थी एसईईमा सहभागि भएका छन् । त्यस्तै गोरखामा ३ हजार ७ सय ९७, लमजुङमा २ हजार ८ सय ६२, पर्वतमा २ हजार २ सय १७ र म्याग्दीमा २ हजार २२ विद्यार्थी सहभागी भएको महाशाखाले जनाएको छ । सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १ सय ८६ जनाविद्यार्थी एसईमा सहभागि भएका छन् ।
प्रदेशभर १८७ वटा परीक्षा केन्द्र तोकिएको छ भने सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन सहित परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।