पोखरा असार २०,

गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले यस वर्ष देखि अग्रज पत्रकार सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गरे । ३ दिनअघिमात्र निधन भएका स्व. पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरु कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गरे । सम्मानित व्यक्तित्वको बारेमा लेखिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि सोही अवसरमा विमोचन गरिएको थियो ।
गत १६ असार राति ९१ वर्षको उमेरमा निधन भएका पराजुली जनमत दैनिकका संस्थापक एवं सम्पादक हुन् । पोखरेली नवरत्नबाट सम्मानित उनी प्रेस स्वतन्त्रता सेनानी पनि हुन् । अर्का सम्मानित व्यक्तित्व गुभाजू आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुन् । २०२५ सालमा ‘नेपाल पर्यवेक्षक’ पत्रिका हुँदै उनी ‘राष्ट्र पुकार’ साप्ताहिकबाट पत्रकारिता थालेका गुभाजु बौद्ध दर्शनका अध्येता समेत हुन् । अग्रज पत्रकार गुभाजूलाई गत वर्ष पोखरेली नवरत्नले सम्मान गरिएको थियो । २०१४ सालमा जन्मिएका अग्रज पत्रकार प्रेमचन्द्र रौनियारलाई ‘सीमामा उभिएको पत्रकार’को रुपमा चिनिन्छ । उनी तीन दशकदेखि नवलपुरमा रहेर पत्रकारिता गरिरहेका छन् । दर्जन बढी मिडियामा काम गरिसकेका उनी हाल एभिन्यूुजका संवाददाता हुन् । तनहुँका विश्वबन्धु भण्डारी पोखरा हुँदै तनहुँमा रहेर ५ दशकदेखि पत्रकारिता गर्दै आएका छन् । उनको सम्पादनमा ‘भञ्ज्याङ’ पत्रिका (२०३९ सालदेखि) निरन्तर प्रकाशित छ । पञ्चायती कालरात्रीको समयमा प्रजातन्त्रको वकालत गरेको भनेर उनको नाममा पत्रिका दर्ता गर्न नदिईकाले भाई विष्णु भण्डारीको नाममा पत्रिका दर्ता गरेर भण्डारीले चलाएका थिए । सरस्वती शर्मा जिज्ञासु समाज परिवर्तनकी अभियन्ता एवं साहित्यकार पनि हुन् । पर्वतमा उनले स्थापना गरेको माधुरी साहित्य प्रतिष्ठानबाट आजपर्यन्त साहित्यिक पत्रिका निस्कन्छ ।
सम्म्मान कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुहरु खुल्ला प्रजातन्त्रमा विश्वास गर्ने भन्दै तर हाल मुलुक गाईडेड प्रजातन्त्रवाट चलेको वताए । अहिले प्रधानमन्त्री , मन्त्री जसलाई जहाँ जे लाग्छ आदेश दिईहाल्छन् भन्दै सरकारको आलोचना गरे । प्राय गिरफ्तारी शुक्रवार अदालत वन्द भएपछि गरिन्छ र अनुसन्धान थालिन्छ अनुसन्धानमा केही नभेटिएमा सोमवार छुट्ने गरेका कि त अदालतको अनुमतीले छुट्ने गरेका छन्, सरकारमा वस्नेहरु दुईदिन भएपनि थुनियो नि भनेर रमाईलो मानिरहेका छन् मुख्यमन्त्रीले भने । यस्तो वदलाको भावना लोकतन्त्रमा नहुने भन्दै मुख्यमन्त्री पाण्डेले यदी यस्तै वद्लाको भावनावाट सरकार अगाडि वढेमा मुलुक द्धन्दमा जाने निस्चीत भएको वताए । संघियताको वारेमा रास्वपाकै विधिन्न नेताहरुवाट राख्ने की खारेज गर्ने भन्ने विषयमा भिन्न भिन्न धारणा आएको भन्दै मुख्यमन्त्री पाण्डेले नेपालमा कुन परिवेसमा संघियता आएको हो त्यसको जरोलाई नवुझिकन कुनै ब्यक्तिको ईच्छा, चाहाना र परिवर्तनका नाममा यदी संघियतालाई खारेज गर्न खोजियो भने मुलुकले १० वर्षे माओवादी द्धन्द्ध जस्तै अर्को द्धन्दको सामना गर्नुपर्ने वताए ।
प्रेस रजिष्ट्रार बिमला भण्डारीले स्वागत गर्दै प्रेस रजिष्टारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरिएको वताईन् । उनले अग्रज पत्रकारको जीवन, संघर्ष, अनुभव र योगदानलाई पुस्तक तथा डिजिटल अभिलेखका रुपमा सुरक्षित गर्ने अभियान प्रारम्भ गरेको वताईन् । सम्मानित पत्रकारतर्फबाट अग्रज पत्रकार विश्वबन्धु भण्डारीले सम्मानप्रति खुसी व्यक्त गर्दै शासक र जनताबीच रहेर काम गर्ने पत्रकार भएको वताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले अहिलेको मिडिया संकटबाट गुज्रिरहेको भन्दै सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सरकारको नीतिको महासंघले निरन्तर विरोध गर्दै आएको बताए । अग्रज पत्रकार सम्मानका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, महासंघ गण्डकीका पूर्व अध्यक्ष नारायण शर्मा, प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल र प्रेस रजिष्ट्रार बिमला भण्डारी रहेको सो अवसरमा जानकारी गराईएको थियो । सञ्चारसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता प्रेस रजिष्ट्रार बिमला भण्डारीले गरेकी थिइन् । स्वच्छ प्रेस ः समुन्नत गण्डकी प्रदेश नाराका साथ आयोजित कार्यक्रमको संचालन पत्रकार अमृत सुवेदीले गरेका थिए ।
सोही अवसरमा मिडियाको अर्थतन्त्र र पत्रकारितामा एआई विषयमा गरिएका दुई सत्रमा वक्ताले गहन छलफल गरे । पहिलो सत्रमा मिडियाको अर्थतन्त्र र दोस्रो सत्रमा पत्रकारितामा ए आई विषयमा छलफल गरिएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।