पोखरा साउन, ३
पोखरा महानगरपालिका वडानं १३, पाटनवेशी स्थित पाटनवेशी टोल बिकाश संस्थाको १७औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले रबि बरालको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ ।
संस्थाको बरिष्ठ उपाध्यक्षमा भीम के.सी, उपाध्यक्षमा रामचन्द्र बराल, सचीवमा सन्तोष लामिछाने, सहसचिवमा पवित्रा आचार्य गौतम तथा कोषाध्यक्षमा भीमबहादुर थापा मगर चुनिएका छन् । तेस्तै कार्यसमिती सदस्यहरूमा क्या . मीनबहादुर गुरुङ, सु.भीमबहादुर रानाभाट, सोमलाल दाहाल, रुद्रमान गुरुङ, शान्ती तामाङ, तेजबहादुर सुनार, सीता भुजेल, कल्पना सापकोटा र प्रतिभा भण्डारी छानिएका छन् ।
अधिवेशनका सम्पन्न गर्न दामोदर बराल संयोजक रहेको सात सदस्यिय निर्वाचन समिति गठन गरिएको थियो समितिमा शिरोमणी बराल, सुरेन्द्र अधिकारी, नरेन्द्र प्रसाद अधिकारी, सूर्यनाथ बराल, शिब भट्टराई र शोभाकान्त सिग्देल सदस्य रहेका थिए ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडानं १३ का वडा अध्यक्ष किरण बरालले टोल विकाश संस्थाहरुको विकासमा वडा कार्यालय संधै साथमा रहेर सहकार्य गर्दै गएको बताए । उनले पाटनवेशी बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना अगाडी सार्दा ,यही टोलका केही विकाश विरोधीहरू, महानगरपालिकामा बनाउन हुँदैन भनेर डिलिकेशन गएको तितो यथार्थ रहेको सम्झाए । अध्यक्ष बरालले वडाबाट धेरै शिर्षकमा बजेट विनियोजन गरिएको उल्लेख गर्दै आवश्यकताका आधारमा सदा बिकाश निर्माणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
पाटनबेसी टोल बिकास संस्थाका अध्यक्ष रबि बरालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वडानं १३ की वडा सदस्य रजनी परियार, पत्रकार श्रीराम सिग्देल, ताराकुञ्ज बोर्डिङ्ग स्कुलका प्रिन्सीपल रबीमोहन बराल, पाटन वेसी टोल विकास संस्था की पूर्व अध्यक्ष, टिकादेबी पराजुली बराल, सल्लाहकार दामोदर बराल, सिर्जनामा समर्पित आमा समुहकी अध्यक्ष साबित्री पौडेल बराल, विजय गंगा आमा समुहकी अध्यक्ष शान्ती तामाङ्ग, दुधपोखरी टोल विकास का सचीव प्रकाश सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष रामचन्द्र बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचीव पवित्रा आचार्य गौतमले गरेकी थिइन् ।
सो अवसरमा पाटनवेसी टोल विकास संस्था द्वारा निर्माण गरिएको पाटनवेसी बहुउद्देश्यीय भवन निर्माणको आय ब्यय प्रतिवेदन सार्वजनिक गरिएको थियो । निर्माण समितिका अध्यक्ष भीम के.सी तथा कोषाध्यक्ष सावित्री शर्माले झण्डै ९१ लाखको लागतमा पक्की भवन निर्माण गरिएको तथा ९० लाख रुपयाँ आम्दानी गर्न सफल भएको बताएका थिए ।
कार्यक्रममा विविध सम्मान अन्तर्गत ८० वर्ष पुगेका १० जेष्ठ नागरिकलाई सम्मान गरिनुका साथै टोल सदस्यका छोरा छोरी मध्ये २०८१ सालदेखि हालसम्म कक्षा १२ मा उतीर्ण भएका झण्डै १५ जनालाई सम्मानित गरिएको थियो ।
