पोखरा कार्तिक १०,
पोखरा महानगरपालिका–३० पावरहाउस चोकस्थित पृथ्वीराजमार्गमा लागूऔषध र मादक पदाथ सेवन गरेर सवारीसाधन चलाउने ७ जना चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार (२०८३ कात्तिक ९ गते) दिउँसो करिब २ः२५ बजेदेखि गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पृथ्वीराजमार्गमा चल्ने सवारीसाधनका चालकले मादक पदार्थ तथा लागूऔषध सेवन गरे÷नगरेको जाँच गर्दा सात जना चालकले लागूऔषध वा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय कासकीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानद्धारा जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ ।
लागूऔषध सेवन गरी बस चलाउनेमा लमजुङको बेँसीसहर नगरपालिका–२ का ३३ वर्षीय पवन परियार, तनहुँको शुक्लागण्डकी नगरपालिका–६ का ३८ वर्षीय दीपक विक, म्याग्दे गाउँपालिका–५ का २८ वर्षीय अमृत नेपाली, भिमाद नगरपालिका–५ का २३ वर्षीय कृष्ण परियार, म्याग्दे गाउँपालिका–६ का ३० वर्षीय मनिस गुरुङ र म्याग्दे गाउँपालिका–३ का २३ वर्षीय विवेक नेपाली रहेका छन् । त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–११ का ५३ वर्षीय खिमबहादुर खत्रीले मादक पदार्थ सेवन गरी बस चलाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका चालकले ग १ ख ६१७१, ग १ ख ३२८२, ग १ ख ५१५३, ग १ ख ४२१७, ग १ ख ८५४४ र ग १ ख ००८३ नम्बरका बस लागूऔषध सेवन गरी चलाएका थिए । मादक पदार्थ सेवन गर्ने खत्रीले ग १ ख ९३९९ नम्बरको बस चलाएका थिए । पक्राउ परेका सातै जना चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सार्वजनिक सवारीसाधन चलाउने चालकले लागूऔषध वा मादक पदार्थ सेवन गर्नु यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षाका लागि गम्भीर जोखिम मानिन्छ । प्रहरीले गरेको यस्तो चेकजाँचले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।